आगामि आव ‘किसानका गरा सँधै हराभरा’ भन्ने मूल नाराका साथ पालुङटार बहुउद्देश्यीय कृषि प्रवद्र्धन कार्यक्रम संचालनमा ल्याइने र यसलाई नगर गौरवको आयोजनाको रुपमा निरन्तरता दिने नगरपालिकाको योजना छ ।
तीन बर्षभन्दा बढी बाँझो रहेको जग्गामा खेती गर्ने कृषकलाई प्रोत्साहन गरिने भएको छ । पुष्प खेती गर्ने किसानलाई प्रोत्साहन गर्न बिउ बिरुवा खरिदमा अनुदान दिने कार्यक्रम रहेको मेयर चिन्तनले बताए । ‘स्थानीय कृषकहरुले उत्पादन गरेका हरेक बस्तुहरुको बजारीकरण तथा भण्डारणका लागि सुविधा सम्पन्न कोल्डस्टोर, दुग्ध संकलन केन्द्र संचालन गर्ने भनेका छौँ,’ उनले भने, ‘बैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा नै व्यवसाय गर्न चाहने यूवा उद्यम व्यवसायीहरुलाई सहुलियत व्याजदरमा ऋण उपलब्ध गराउछौ ।’ कृषि एम्वुलेन्स सेवा संचालन गर्ने र हाटबजारलाई थप व्यवस्थित गर्ने योजना पालिकाको छ । नगर प्रमुखसँग लोक कल्याणकारी किसान कोष कार्यक्रम पनि संचालन गरिने बताइएको छ ।
वडा नम्वर ७ मा औद्योगिक क्षेत्र स्थापनाको सम्भाव्यता अध्ययन गर्न प्रदेश सरकारसँग आवश्यक समन्वय गर्ने नीति नगरपालिकाले लिएको छ । भुलभुलेखार तातोपानीलाई पर्यटकीय गन्तव्यको रुपमा बिकास गर्दै यसै बर्षबाट संचालन गरिने भएको छ । तालपोखरीलाई ऐतिहासिक र धार्मिक पर्यटकीय गन्तव्यको रुपमा बिकास गर्ने नगरपालिकाले जनाएको छ । लिगलिगकोट, कोटगढी, हर्र्मीकोट, सिद्धवावा लगायतका अन्य सम्भावित क्षेत्रमा होमस्टे संचालन गरी आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा जोड दिने नगरपालिकाको योजना छ ।
शिक्षातर्फको कार्यक्रम सार्वजनिक गर्दै मेयर चिन्तनले अमरज्योति जनता माविलाई नमूना आवासीय बिद्यालयको रुपमा बिकास गरिने बताए । एक बिद्यालय एक उद्यम कार्यक्रम संचालन गर्ने र बिद्यार्थी संख्या धेरै भएका विद्यालयलाई आवासीय मेगा विद्यालयको रुपमा संचालन गर्ने प्रक्रिया अघि बढाउने उनले जानकारी दिए । ‘नगरपालिकाभित्र संचालित शिक्षण संस्थामा प्राविधिक शिक्षा अध्ययन गर्न चाहने गरिव तथा जेहेन्दार बिद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने र वडा नम्वर ७ मा रहने गरी निर्माण भएको कृषि क्याम्पस संचालनका लागी आवश्यक सहयोगको साथ थप पहल गर्ने योजना छ,’ उनले भने ।
आँपपिपल अस्पताललाई ५० शैयामा स्तरोन्नती गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न पहल गर्ने, नगरपालिकाभित्र मृत्यु भएकाको शव व्यवस्थापनका लागी निशुल्क शव बहानको व्यवस्था गर्ने र जेष्ठ नागरिकलाई घरघरमा निशुल्क स्वस्थ्य परिक्षणको व्यवस्था गर्ने नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उल्लेख छ । ब्लड बैक स्थापना कार्यलाई अगाडी बढाइने बताइएको छ ।
पानीको गुणस्तर परिक्षणका लागी आधुनिक ल्याव संचालन गरिने, सिमसार क्षेत्र संरक्षणका लागि जलस्रोत दीगोपनाका लागि सबै वडाहरुमा एक वडा एक पोखरी निर्माणको नीति लिएर पोखरी निर्माण गर्ने योजना नगरपालिकाको छ । प्लास्टिकमुक्त नगरपालिका बनाउन आवश्यक पहल गर्ने नगरपालिकाले जनाएको छ ।
नगरभित्रका लेखक, साहित्यकार तथा कलाकारको प्रोत्साहन र बिकासका लागि युवा प्रतिभाको खोजी तथा प्रोत्साहन कार्यक्रम समेत संचालन गर्ने नगरपालिकाले जनाएको छ । नगरपालिकाको शैक्षिक, ऐतिहासिक र पर्यटकीय स्थल लगायतका क्षेत्रलाई समेटेर नगर चक्रपथको निर्माण कार्य अघि बढाउने कार्यक्रम नगरपालिकाको छ । यस बर्षबाट नगर यातायात संचालन गर्ने योजना नगरपालिकाको छ । सुविधा सम्पन्न सभाहल सहितको व्यवसायीक भवन निर्माण कार्य यसै बर्षबाट अघि बढाइने भएको छ । वन क्षेत्र भित्र फलफुल खेती गरी बाँदर आतंक नियन्त्रण गर्ने नगरपालिकाले निति लिएको छ । सुकुम्वासीहरुको आवासिय सुविधाका लागी वडा नम्वर ७ मा बनेको भवनहरुको संघीय सरकारसँग समन्वय गरी उचित उपयोग गरिने बताइएको छ ।
कार्यक्रमको अवसरमा पालुङटार नगरपालिका स्थायी बासिन्दा रही राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा बिभिन्न क्षेत्रमा ख्याती प्राप्त व्यक्तिहरुलाई सम्मान समेत गरिएको छ । संगीतकार आलोक श्री, गजलकार प्रदीप रोदन, पत्रकार तथा समाजसेवी राजेन्द्र वानियालाई कदर पत्रले सम्मान गरिएको हो । त्यस्तै स्व। डा। उपेन्द्र देवकोटा र साहसिक खेलाडी स्व। निस्सिम थापालाई मरणोपरान्त सम्मान गरिएको नगरपालिकाले जनाएको छ ।
FACEBOOK COMMENTS