मोरङको रङ्गेलीमा जन्मिएर १५ वर्षको उमेरदेखि नै निर्यातमुखी व्यापारमा हात हालेका पवन गोल्यान अहिले गोल्यान ग्रुपको अध्यक्ष छन् । विराटनगरमै विद्यालय शिक्षा हासिल गरेका उनले त्यहीँको क्याम्पसबाट बीकमसम्मको अध्ययन गरेका छन् । क्याम्पस अध्ययन गर्दादेखि नै आफ्नो हजुरबुबा सोहनलाल गोल्यानले स्थापना गर्नुभएको टेक्सटायल उद्योगमा पूर्णकालीन काम गरी उद्योग र व्यापार सिकेका पवन गोल्यान ६५ वर्षको उमेरमा पनि निर्यात प्रवद्र्धनमा क्रियाशील छन् । पछिल्लो समय कृषिलाई कर्पोरेटमा ल्याउनुपर्छ भन्दै लागि परेका उनले कृषि उपजहरू पनि निर्यात गर्न सकिने प्रसस्त सम्भावनाहरू औंल्याए । कृषिका साथसाथमा अरु के–के वस्तु तथा सेवा सहजै निर्यात गर्न सकिन्छ र सम्भावना कस्तो छ लगायत थुप्रै विषयमा हामीले लामो कुराकानी गरेका छौँ । प्रस्तुत छ, गोल्यानसँग कर्पोरेट खबरका कार्यकारी सम्पादक ज्योति जीसीले गरेको कुराकानीको सम्पादित अंश–
कर्पोरेट म्यागजिनको अवार्ड विशेष अङ्क पढ्न यहाँ क्लिक गर्नुहोस्
एउटा लामो इतिहास बोकेको गोल्यान समूहको नेतृत्व अहिले तपाइँ अर्थात् यो व्यापारिक घरानाको तेस्रो पुस्ताले गरिरहनुभएको छ । तपाइँ तेस्रो पुस्ता मात्र नभइ इनर्जेटिक र उच्च प्रविधिको दुनियाँभित्र पनि हुनुहुन्छ । तपाइँको भूमिकाबाट गोल्यान ग्रुपलाई के–कस्तो फाइदा पुगेको छ ?
मैले पाँच वर्षअघि नै गोल्यान ग्रुपको सबै कार्यकारी भूमिका अरु साथीहरूलाई ह्याण्डओभर गरिसकेको छु । अहिले मेरो भूमिका बोर्डमा अध्यक्षको मात्रै हो । यसरी हेर्दा गोल्यान ग्रुपको नेतृत्व तेस्रोबाट पनि अघि बढिसकेको छ । विज्ञान र प्रविधिको कुरा गर्नुहुन्छ भने आउँदो पुस्ता अत्यधिक काबिल बनेर आउने निश्चित छ । यद्यपि, हामीले गोल्यान ग्रुपलाई अहिले पनि प्रविधिमैत्री ढङ्गबाट अघि बढाइरहेका छौँ । जसले गर्दा यसअघि दुई घण्टामा हुने काम अहिले २० मिनेटमा सकिने अवस्था बनेको छ, मल्टीटास्किङमार्फत एउटै समयमा धेरैवटा काम गर्न सकिने पनि भएको छ । यस आधारमा भन्नुपर्दा गोल्यान ग्रुप पूर्णरूपमा कर्पोरेट कल्चरभित्र बसेर अघि बढिरहेको छ भनेर म दावाका साथ भन्न सक्छु र हाम्रो कम्पनीहरूका लागि यो धेरै ठूलो फाइदाको विषय पनि हो ।
गोल्यान ग्रुपको कार्यकारी भूमिकामा नहुनुभएको तपाइँ त्यसो भए अहिले के गर्दै हुनुहुन्छ त ?
ग्रुपबाट म रिटायर भइसकेपछि ग्रुपले गरेको कामहरूमा मेरो खास उपस्थिति र योगदान छैन भन्दा पनि हुन्छ । पोलिसी लेभलमा काम गर्नुपर्दा मैले अग्रभागमा रहेर पनि अन्य कामहरू खासै गरेको छैन । तर म आफूचाहिँ कृषिमा लागेको छु । नेपालको दीगो विकासका लक्ष्यहरू पूरा गर्ने मुल बाटो कृषि हो भन्ने निष्कर्षसहित म त्यसतर्फ लागिरहेको छु । यसमा गोल्यान ग्रुपले पनि सहयोग त पुर्याइरहेकै छ । त्यो भनेको कृषिमा हामीले पाँच वर्षदेखि लगानी गरिरहेकै छौँ । त्यसबाहेक ऊर्जा र पर्यटनको क्षेत्रमा पनि हामीले विगतदेखि काम गर्दै आएका छौँ । खासगरी आयात प्रतिस्थापन र निर्यातमुखी व्यवसाय प्रवर्द्धनका निम्ति मैले सरकारसँग नजिक रहेर पोलिसी लेभलमा काम गरिरहेको छु । उद्योग विभागअन्तर्गत औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्डमा म विज्ञ सदस्यका रूपमा काम गरिरहेको छु । अहिले मेरो ध्यान कृषिलाई कर्पोरेट कसरी बनाउन सकिन्छ भन्नेमा छ । नेपालको अधिकांश जनसंख्या कृषि कर्ममा भएको तर कृषिमा परनिर्भरता बढिरहेको सन्दर्भमा मैले यसलाई विशेष ध्यान दिइरहेको छु । यदि यो काममा मैले सफलता पाएँ भने नेपालका अन्नदाता किसानहरूले गर्वले भन्न सक्नुहुने छ कि ‘म किसान हुँ’ यही कुरा स्थापित गर्न म लागिरहेको छु ।
गोल्यान ग्रुपले सुरूमा टेक्सटायल उद्योग स्थापना गरी आफ्नो व्यावसायिक यात्रा तय गरेको थियो । अहिलेसम्म आइपुग्दा कुन्–कुन् क्षेत्रमा आफ्नो उपस्थिति जमाएको छ ?
खासगरी मेरो व्यावसायिक यात्रा त्यही टेक्सटायल उद्योगबाट भएको हो । त्यो कपडा बनाउने उद्योग हो । पछि धागो बनाउने उद्योग निर्माण गरेपछि ‘कन्फिल्क्ट अफ इन्ट्रेष्ट’ जस्तो भयो र त्यसलाई बन्द गर्याैँ । त्यसपछि पछिल्लो २६/२७ वर्षदेखि धागो उद्योग चलिरहेको छ । उत्पादनको ८० प्रतिशतजति निर्यात गर्ने गरिएको छ । पछिल्लो चरणमा सो कम्पनी रिलाइन्स स्पिनिङ मिल्स साधारण शेयर (आईपीओ) जारी गर्ने तयारीमा पनि छ । त्यो आफैंमा इतिहास बोकेको उद्योग हो, जहाँ करिब पाँच हजार जनाले रोजगारी पाइरहेका छन् । अर्को, स्वेटर, पस्मिना र सलहरू उत्पादन गर्ने उद्योग ट्रिकोट इन्डष्ट्रीज छ । त्यो मेरो भतिजले हेर्छ । त्यसबाट उत्पादित वस्तु पनि २२–२३ वटा देशमा निर्यात गर्दछौँ । त्यस्तै, व्यागहरू र हार्भेस्टिङका लागि आवश्यक पर्ने सामग्रीहरू उत्पादन गर्ने कम्पनी पनि हामीसँग छ । यो तीनवटा उद्योग मिलाएर हामी सबैभन्दा बढी निर्यात गर्ने समूहमा पनि पर्दछौँ ।
गोल्यान ग्रुपभित्रका उद्योगहरूमा कति मानिसले रोजगारी पाएका छन् ?
करिब आठ हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
राजस्व वार्षिक कति रकम राज्यलाई बुझाउनुहुन्छ ?
समग्रमा हेर्दा हामीले बुझाउने राजस्वको फिगर आयात गर्ने कम्पनीहरूको तुलनामा कम नै हुन्छ । किनभने हामी निर्यातमूलक व्यवसाय गरिरहेका छौँ । भ्याटहरू प्रायः रिफण्ड हुन्छ । राज्यले पनि निर्यात वा राजस्वमध्ये एउटा हेर्नुपर्छ । अर्थात् निर्यातमूलक व्यवसायबाट कम राजस्व उठ्छ ।
गोल्यान ग्रुपले स्थापनाको करिब ६५ वर्ष बिताएको छ । यो अवधिमा भोग्न परेका दुःख, सुख र अरु उतारचढावहरू के कस्ता थिए ?
‘एकातिर बगिरहेको खोला अर्कोतिर फर्काउनु’ सजिलो विषय पक्कै होइन । अर्थात्, सुरुवाती चरणमा उद्योग सञ्चालन गर्नु कठिन नै थियो । पहिलाका उद्योगी घरानाहरू अहिले ट्रेडिङ घरानाहरू बनेका छन् । त्यसमा उहाँहरूलाई दोष दिने मेरो नियत होइन । किनभने राज्यको सोच राजस्व र आयातमुखी रहेछ त्यसैअनुसार उहाँहरू चल्नुभयो । उत्पादन गरेर निर्यात गर्नु एकदमै गाह्रो काम छ । तर, आजसम्म आइपुग्दा धेरै सजिलो भएको छ । किनभने अरु व्यापार खस्किदै जाँदाखेरि आयातमुखी व्यापारको तुलनामा निर्यातमुखी व्यवसाय त्यति समस्यामा परिहालेको अवस्था छैन । कमी त भएको छ, तर समस्यामा छैन । यसले दीगो विकासको लक्ष्यलाई पछ्याउनेगरी काम गर्नुपर्छ भन्ने सन्देश पनि दिएको छ । यसमा फेरि पनि जोड्न चाहान्छु कि राजस्व कति तिर्याे भन्ने कुरा गौण हुनुपर्दछ ।
अहिलेको अवस्थाबाट पार पाउन राज्यले कस्तो कदम चाल्न उपयुक्त देख्नुहुन्छ र उद्योगी–व्यवसायीको हितमा राज्यले कसरी काम गर्न पर्ला ?
मैले देखेको चारपांग्रे अर्थतन्त्रको जब हामी कुरा गर्छौँ भने चारवटै पांग्रा बराबरी हिँड्नुपर्याे । अहिलेको हिसाबमा चारवटै पांग्रामा कुनै न कुनै समस्या देखिएको छ । त्यसलाई एकअर्कामा दोष लगाउनुभन्दा सबै मिलेर यसको समाधान मज्जाले निकाल्न सकिन्छ । त्यसका लागि सबैभन्दा पहिला राजनीतिक इच्छाशक्ति वा अठोट हुनुपर्याे, त्यो लयमा कर्मचारीहरू पनि लाग्नुपर्याे, हामी निजी क्षेत्रले पनि आफ्नो स्वार्थ छोडेर देशलाई फाइदा हुने काम बढी गर्नुपर्याे र तपाइँहरूजस्तो मिडियाले पनि सकारात्मक कोणबाट समाचार सामग्री पस्किनपर्याे । जसले गरे पनि राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्ने कल्चरको विकास गर्नुपर्याे । नराम्रो जसले गरेको छ त्यसलाई छोड्न पनि भएन । यसरी हामी सबैले आ–आफ्नो कर्तव्य पूरा गर्छौँ भने विद्यमान समस्या समाधान हुनसक्छ । अहिलेको अवस्था यो भन्दा तल नझर्नुपर्ने हो । तर, पछिल्लो समय भएको राजनीतिक परिवर्तनले झन् समस्यामा पर्ने देखिन्छ । त्यसकारण मैले जोडका साथ भन्दै आएको छु कि सबैभन्दा पहिला राजनीतिक अठोट आउनैपर्छ ।
अर्को कुरा उद्योगी तथा व्यवसायीहरूलाई पनि खुलेर काम गर्न दिनुपर्याे । यदि कसैले नराम्रै गरेको छ भने पनि त्यसको लेभल मापन हुनुपर्याे र त्यसैअनुसार कारबाहीको कठघरामा उभ्याउनुप¥यो । तर, पछिल्लो समय उद्योग व्यवसायको क्षेत्रमा जुन आतंक सृजना गरिएको छ यसले अर्थतन्त्रलाई झन् समस्यामा पार्ने खतरा मैले देखेको छु । यो माहोलमा चाहिँ काम हुन सक्दैन । किनभने उद्योग वा व्यापार जे गर्दा होस् काम गर्दा जानअञ्जान कतै चुक्न पनि सकिन्छ । यो कुरा जुनसुकै क्षेत्रमा पनि लागू हुन्छ । जसले सेतोलाई कालो वा खैरो बनाएको छ त्यो कारबाहीको भागीदार स्वतः हुनुपर्दछ, तर सेतोमा कतै–कतै मात्र दाग छ भने त्यसलाई ठूलो इस्यू बनाएर हतोत्साही बनाउने काम गर्न हुँदैन भन्ने मेरो धारणा छ । किनभने चन्द्रमामा पनि दाग छ भन्छौँ नि हामी ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्था र समग्र उद्योग व्यवसायको क्षेत्रविरुद्ध आक्षेपपूर्ण र गम्भीर आरोपसहितको अभिव्यक्ति आउने गरेका छन् । त्यतिमात्र होइन एक खालको नकारात्मक माहोल नै सृजना गरिएको छ । तर, राज्यले त्यसलाई वेवास्ता गरिरहेको देखिन्छ । यसबारे के टिप्पणी गर्नुहुन्छ ?
हाँस्दै.. यो विषयमा सकारात्मक माहोल बनाउने काम तपाईँ मिडिया (चौथो पांग्रा) हरूकै हो नि । तपाइँहरूले समेत नकारात्मक विषयलाई मात्र उजागर गर्न थालेपछि समस्या झन्–झन् जटिल बन्दै गएको हो । हामीमाथि अट्याक हुँदा हामीले सरकारलाई भन्ने हो । त्यो काम हामीले गरेका छौँ । म बैंक वित्तीय संस्था परिसंघको अध्यक्ष हुँदा प्रधानमन्त्री, गृहमन्त्री, गभर्नर र गृहसचिवज्यूलाई गुहारेका हौँ । गृहमन्त्रीज्यूले केही एक्सन पनि लिनुभयो, त्यसको नतिजा सबैलाई थाहै छ । पर्सनल रूपमा ममाथि पनि एट्याक भयो तपाइँहरूलाई थाहै छ । तर, मिडियाले अफवाह फैलाउनेहरूलाई नै थप हिरो बनाउने हिसाबले आफूलाई प्रस्तुत गरेको मेरो बुझाई छ ।
अर्को कुरा, जसले अफवाह फैलाइरहनुभएको छ, उहाँको आफ्नो समस्या पनि होला । तर, सबै बैंक वित्तीय सेक्टरले नै गल्ती गरेको कुरा मलाई विश्वास लाग्दैन र त्यस्तो हुन सक्दैन । एउटा अमुक बैंक वा व्यक्तिले गरेको दोषको भागीदार उसैलाई मात्र बनाउँ सबैलाई दोष थोपरेर समस्यामाथि समस्या नथुपारौँ भन्ने मेरो भनाइ छ । यदि कसैले गल्ती गरेको छ भने उविरुद्ध उजुरी दिने र कानुनी उपचार खोज्ने ठाउँ पनि त छ नि । तर, हामी किन प्रचारात्मक अतिरञ्जित कोणबाट अघि बढिरहेको छौँ । आफूले आफूलाई पनि आत्मसमीक्षा गर्ने बेला पो भयो कि ।
अर्थतन्त्रमा यति ठूलो समस्या आएको छ, बजारमा नकारात्मक हल्ला फैलाएर समस्यालाई थप जटिलतातर्फ लैजाने प्रयास भइरहेको छ । तै पनि सरकार मौनप्रायः हुनुको कारणबारे केही आँकलन वा टिप्पणी गर्नुहुन्छ ?
नेपाल राष्ट्र बैंक पनि सरकारको एउटा एजेन्सी हो । गभर्नरज्यूले पछिल्लो समय यो विषयबारे स्पष्ट कुराहरू राख्दै आउनुभएको छ । बैंकिङ सेक्टर भनेको अर्थतन्त्रको मेरुदण्ड हो । एक–दुई वटा बैंकले गल्ती गरेका पनि हुनसक्दछन् । तर, सबैलाई एउटै बास्केटमा हालेर समग्र बैंकिङ क्षेत्र नै ध्वस्त बनाउने काम गर्नुभएन । बैंक डुब्यो भने बैंक मात्र डुब्दैन देशको अर्थतन्त्र पनि डुब्छ । त्यस्तो अवस्था सम्हाल्न मुश्किल पर्छ । तर, मैले देख्दा मिडिया र सोसियल साइटहरूमा आएको खबरहरूजस्तो बैंकहरू डुब्ने वा समस्यामा पर्ने अवस्था छैन । यद्यपि, जथाभावी हुने हल्ला र अफवाहरू रोक्न सकिएन भने अवस्था अझै जटिलतातिर जाने स्थिति पनि छ ।
आरोपकै कुरा गर्दा तपाइँमाथि पनि मानिसहरूले केही नकारात्मक टिप्पणी गरेको पाइन्छ । कि कृषिका लागि भनेर लिएको ऋण होटेल निर्माणमा लगाउनुभयो भनेर । यसबारे के भन्नुहुन्छ ?
यस सन्दर्भमा आज म तपाइँसँग खुलस्त भन्न सक्ने अवस्थामा छु । किनभने अहिले म बैंक वित्तीय संस्था परिसंघमा छुइनँ । दुई प्रतिशत ब्याजदर भएको १० अर्ब रूपैयाँ ऋण लिएर मैले होटेलमा लगानी गरेको भन्ने कुरा सत्य होइन । किनभने त्यो ऋण लिँदाको रेकर्डले त्यसो भन्दैन । दुई प्रतिशत व्याजदरमा मैले कुनै ऋण नपाएको कुरा तपाइँको मिडियामार्फत स्पष्ट पार्न चाहान्छु । कृषिमा मैले यति ठूलो काम गरिरहेको छु, त्यहाँ १६० विघा जग्गा छ त्यहाँ कति लगानी गरिएको छ भन्ने कुरा तपाइँ जोकोहीले गएर हेर्न सक्नुहुनेछ । धेरै जनाले गएर हेरिसक्नुभएको पनि छ ।
कृषि लोनको कुरा गर्ने हो भने सबै मिलाएर हाम्रो लोन ४१ करोड रूपैयाँ मात्रै छ । यसको व्याजको कुरा गर्नुहुन्छ भने मैले उद्योगहरूमा दिएको व्याज भन्दा कृषिमा झन् दुई/तीन प्रतिशत बढी दिइरहेको छु । आजको दिनमा मैले १२–१३ प्रतिशत व्याज तिरिरहेको छु । तपाइँहरूले यो मैले दिएको फिगर भेरीफाइ गर्न पनि सक्नुहुनेछ । त्यो काम राज्य र राज्यको एजेन्सी राष्ट्र बैंकले पनि पक्कै गरेको होला । कृषिको फाइल हरेक वर्ष समस्यामा पर्छ । यसले मलाई कहिँ न कहिँ घोचिरहेको छ । किनभने मैले कृषि कर्म गर्न खोज्दा नै बदनाम भएँजस्तो लाग्छ । यसबारे मिडियाले पनि सही र गलत खोजिदिए हुन्थ्यो भन्ने लागेको छ ।
तपाइँहरू त निर्यातजन्य वस्तु उत्पादनमा हुनुहुन्छ । नेपालको निर्यातको अवस्था भने अत्यन्तै नाजुक छ । निर्यातयोग्य वस्तु उत्पादन वृद्धिमा कसरी काम गर्न सकिएला ? त्यस्तो वस्तु तथा सेवा उत्पादनको सम्भावना कत्तिको देख्नुहुन्छ ?
हामीले हाम्रो मौलिक, रैथाने र पहाडी भेगका धेरै उत्पादनहरू निर्यात गर्न सक्छौँ । खासगरी खानेर लगाउने वस्तुको निर्यात सम्भावना मैले धेरै देखिरहेको छु । किनभने खान र लगाउन त हामीलाई पनि परिहाल्छ । सँगसँगै निर्यातका लागि पनि हुनेगरी उत्पादन थाल्नुपर्दछ । जस्तो, भर्खरै विश्वकै ठूलो र एकमात्र कृषिमेला ‘गल्फफुड’ आयोजना भएको थियो । पाँच दिनसम्म चलेको मेला अवलोकन गर्न नेपालबाट मसहित अरु तीन जना साथीहरू गएका थियौँ । त्यहाँ खासगरी नेपाली उत्पादनहरू र सर्टिफाइड भएका अर्गानिक वस्तुहरूको डिमाण्ड उच्च रहेको मैले पाएँ ।
अहिले विदेशबाट आउने ब्ल्यू–टी दराज अनलाइनले बिक्री गरिरहेको छ, जुन धेरै महङ्गो पनि छ । त्यो हामी यहीँ उत्पादन गर्न सक्छौँ र हामीले उत्पादन गर्दा आधार मूल्यमा पाइन्छ । यद्यपि त्यसको उत्पादन हामीले थालिसकेका छौँ, जसको डिमाण्ड विश्वभर सातदेखि आठ हजार करोडसम्मको छ । अर्को रातो चियाको पनि २० हजार करोडजतिको बजार छ । त्यस्तै सिमलतरुलको पनि अन्तर्राष्ट्रिय डिमाण्ड ठूलो छ । अर्थात् हामीले निर्यात मात्र नभइ हाम्रो स्वास्थ्यका लागि पनि नेपाली खाद्य वस्तुको उत्पादन गर्नुपर्छ भन्ने सुझाव मेरो छ । हामी जे सक्छौँ त्यो गरौँ भन्न चाहान्छु । बाहिरबाट पार्टपूर्जा ल्याएर यहाँ गाडी बनाएर धनी हुने भन्ने कुरा त्यति सम्भव र सहज मैले देखेको छैन ।
अर्को कुरा, वन पैदावारबाट हामी १० खर्ब रूपैयाँ बराबरको निर्यात गर्न सक्छौँ । त्यसमा काठको मात्रै सात खर्ब रूपैयाँको निर्यात सम्भव छ । यसैगरी अझै हामीसँग अल्लो, केराको फाइवर र अन्य फाइवरजन्य वस्तु, नोट प्रिन्टिङका लागि हातेकागजजस्ता वस्तुहरूको निर्यात हामी गर्न सक्छौँ । अर्थात् नेपालमा भएका कच्चा पदार्थको प्रयोगसम्बन्धी योजना सरकार र निजी क्षेत्रले ल्याउनु आवश्यक छ । यस्तै अर्थतन्त्रलाई मजबुत बनाउन पर्यटन क्षेत्रमा पनि हामीले धेरै कुरा गर्न सक्छौँ ।
अन्तिममा थप केही भन्न चाहानुहुन्छ ?
नेपालको झण्डा बोकेर मात्र नेपाली भइँदैन, नेपाली भनेर गर्व गर्नका लागि सबैभन्दा पहिला नेपाली उत्पादन मनैबाट रोज्नुपर्छ । मेड इन नेपाल देख्नेबित्तिकै हामी इग्नोर गर्छौँ भने नेपाली उत्पादनको प्रवद्र्धन कसरी गर्ने ? नेपाली उत्पादन नराम्रो छैन, हाम्रो बानी बिग्रिएको हो सुधारेर अघि बढौँ । अर्को मलाई लागेको कुरा तेस्रो पुस्तामा जाँदाखेरि ठूला ग्रुपहरू सबै सकिन्छन् यो विश्वव्यापी ट्रेन्ड नै बनेको छ । किनभने अब इजी मनी आउनथाल्यो, पैसा अथाहा हुन थाल्यो र काम नगरे पनि पैसा आउन थालेपछि देखिने समस्या हो यो । किनकी हामीलाई यदि भोग लाग्दैनथ्यो भने काम पनि त गर्दैनथ्यौँहोला । राष्ट्रिय पुँजीपति बन्ने कि अरु बन्ने भन्ने कुरामा भर पर्छ ।
FACEBOOK COMMENTS