काठमाडौं । पूर्वमन्त्री एवं नेपाल समाजवादी पार्टीकी नेत्री हिसिला यमीले दिगो विकासका लागि भौतिक पूर्वाधार निर्माणमा राजनीतिक नेतृत्वसँगै जनसहभागिता पनि आवश्यक रहेको बताए । उनले भने, ‘कुनै पनि क्षेत्रको दिगो विकासका लागि भौतिक या अन्य पूर्वाधारको निर्माणलाई स्थानीयतासँग जोड्नुपर्छ र यसमा जनताको अधिक सहभागिता हुनुपर्छ ।’
नेत्री यमीले भौतिक पूर्वाधारको निर्माणलाई स्थानीयको सहभागितासँग जोेडेर मात्र अघि बढाउनुपर्ने र सो पूर्वाधारको विकासमा हरेक नागरिकले अपनत्व ग्रहण गर्न सक्ने हुनुपर्ने आवश्यकता पनि औँल्याए।
‘विकासमात्र गरेर पुग्दैन यसलाई अपनत्वसहित तल्लोतहसम्म व्यक्तिको जनजीवन र सीपसँग जोडनुपर्छ । निर्यातसँग पनि जोडनुपर्छ । सबै प्याकेजमा हुनुपर्छ’, नेत्री यमीले भने । उनले देशभरका विभिन्न स्थानमा सडक सञ्जाल पुगेको र सडक पुगेसँगै कतिपय जिल्लामा एकतर्फी रूपमा बाह्य आयात वृद्धि भएको अवस्था औँल्याउँदै सडक मार्गको विकास र विस्तारपछि बसाइँसराइ बढेको तर स्थानीय परम्परागत सीप र सामग्रीको विकास निर्यात हुन भने नसकेको भन्दै यसबारेमा पनि अब सोच्नुपर्ने धारणा राखे । उनले अधिकांश सडकमार्ग सुरक्षित एवं राम्ररी सवारी यात्रा गर्ने अवस्थामा नरहेकाले यसको स्तरोन्नति र विकासमा सम्बद्ध निकायको ध्यान पुग्नुपर्ने बताए ।
नेत्री यमीले सडक सञ्जाल विस्तारलाई स्थानीय उत्पादन र व्यापारसँग जोड्न सकिने सुझाव दिँदै भने, ‘बृहत रूपमा हेर्दा केही भएको देखिन्छ । तर सुक्ष्म रूपले हेर्दा सेवा प्रावह पुगिरहेको छैन । सडक निर्माण र विस्तारमा मात्रै पनि सरकारले धेरै लगानी गरेको छ । जनताले के पाए ? हामीले सडक पुगेका ठाउँबाट के निर्यात गर्न सकेका छौँ ? ‘माइक्रो’ र ‘म्याक्रो’ दुवैको संयोजनबाट मात्र विकास हुनुपर्छ ।’
उनले पूर्वाधार निर्माणलाई आर्थिक व्यवहारिकतासँग पनि जोड्न सक्नुपर्ने बताए । देशभर पूर्वाधार निर्माण भएको र यसपछि पनि स्थानीय नागरिक यसबाट लाभान्वित हुन नसकिरहेकाले भौतिक पूर्वाधारलाई आर्थिक व्यवहारिकतासँग जोड्न आवश्यक रहेको उनको सुझाव थियो । यसका लागि आवश्यक वातावरण बनाउन राजनीतिक नेतृत्व जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो ।
FACEBOOK COMMENTS