फिक्कल (इलाम) । इलामको देउमाई नगरपालिकाले जन्मदर्ता र मृत्युदर्ता गराएवापत पाँच हजार रूपैयाँ सहयोग उपलब्ध गराउँदै आएको छ । घटनादर्ता अन्तर्गत ३५ दिनभित्र जन्मदर्ता र मृत्युदर्ता गराएवापत सो सहयोग उपलब्ध गराउँदै आएको हो ।
देउमाईले नगरपालिकाको तर्फबाट ‘सुत्केरी शिशु पोषण कार्यक्रम’ अन्तर्गत नगरभित्र स्थायी रूपमा बसोबास गरेका प्रत्येक सुत्केरीलाई आफ्नो शिशुको ३५ दिनभित्र जन्मदर्ता गराए पाँच हजार रूपैयाँ पोषण भत्ता उपलब्ध गराउँदै आएको छ । आर्थिक वर्ष २०८०/८१ मा नगरभित्रका दुई सय २७ सुत्केरीले देउमाई नगरपालिकाबाट ११ लाख ३५ हजार रूपैयाँ पोषणभत्ता प्राप्त गरेका छन् । उनीहरू सबैले समयमै जन्मदर्ता गराएका कारण पोषण भत्ता उपलब्ध गराइएको देउमाई नगपालिकाका लेखा अधिकृत गजेन्द्र एक्तेनले जानकारी दिए ।
देउमाईले अघिल्लो आर्थिक वर्ष २०७९/८० मा नगरभित्र स्थायी रूपमा बसोबास गरेका तीन सय १२ सुत्केरीलाई १५ लाख ६० हजार रूपैयाँ पोषण भत्ता उपलब्ध गराएको थियो । देउमाई नगरभित्र स्थायी रूपमा बसोबास गरी कुनै पनि स्वास्थ्य संस्थामा चार पटक गर्भ जाँच गरेको र ३५ दिनभित्र वडा कार्यालयमा जन्मदर्ता गराएको प्रमाण पेस गर्नुपर्ने प्रावधान रहेको उनले बताए ।
गर्भवती भएदेखि सुत्केरी भएको ३५ दिनभित्रको आमा र शिशुलाई उत्प्रेरणा तथा पोषणस्थितिमा आमा र शिशुको स्वास्थ्य सुधार गर्न ‘सुत्केरी शिशु पोषण कार्यक्रम’ लागु गरिएको नगर प्रमुख सूर्यप्रसाद पोख्रेलले बताए । सुत्केरी आमा र नवजात शिशुलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन सकरात्मक सन्देश प्रवाह गर्नका लागि सुत्केरी शिशु पोषण व्यवस्थापन कार्यक्रम लागू गरिएको उनको भनाइ छ ।
त्यसैगरी देउमाई नगरपालिकाले कुनैपनि कारणले मृत्यु भएका नगरभित्रका नागरिकका परिवारलाई दाहसंस्कार खर्चवापत पाँच हजार रूपैयाँ सहयोग उपलब्ध गराउँदै आएको छ । आर्थिक वर्ष २०८०/८१ मा देउमाईका दुई सय चार जना मृतकका परिवारले १० लाख २० हजार रूपैयाँ दाहसंस्कार खर्च प्राप्त गरेका थिए ।
घटना भएको ३५ दिनभित्र मृत्युदर्ता गराई नगरपालिकामा पेश गरेपछि दाहसंस्कार खर्च उपलब्ध गराउने व्यवस्था रहेको लेखा अधिकृत एक्तेनले बताए । देउमाईले अघिल्लो आर्थिक वर्ष २०७९/८० मा नगरभित्रका एक सय ९० मृतकका परिवारलाई नौ लाख ५० हजार रूपैयाँ दाहसंस्कार खर्च उपलब्ध गराएको थियो ।
त्यस्तै आर्थिक वर्ष २०८०/८१ मा देउमाईका एक हजार सात सय ५४ ज्येष्ठ नागरिकले नगरको तर्फबाट ३५ लाख चार हजार रूपैयाँ पोसाक भत्ता पाएका छन् । देउमाई नगरभित्र स्थायी बसोबास गर्ने ७० वर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई दुई हजार रूपैयाँका दरले पोसाक भत्ता उपलब्ध गराइएको हो ।
उनीहरूलाई नगरपालिकाले वार्षिक रूपमा एकमुष्ठ दुई हजार रूपैयाँका दरले पोसाक भत्ता उपलब्ध गराएको लेखा अधिकृत एक्तेनले जानकारी दिए । देउमाईले आव २०७९/८० मा एक हजार पाँच सय ७६ ज्येष्ठ नागरिकलाई ३१ लाख ५२ हजार रूपैयाँ पोसाक भत्ता उपलब्ध गराएको थियो ।
यसैगरी नगरपालिकाले आव २०८१/८१ मा दीर्घरोगी २५ जनालाई उपचार खर्च उपलब्ध गराएको छ ।
देउमाईले दीर्घरोगीलाई औषधि खर्चवापत पाँच हजार रूपैयाँका दरले एक लाख २५ हजार रूपैयाँ उपलब्ध गराएको लेखा अधिकृत एक्तेनले जानकारी दिए । देउमाईले नगरभित्र स्थायी रूपमा बसोबास गरेका दीर्घरोगीलाई वार्षिक रूपमा एक पटक उपचार खर्च उपलब्ध गराउँदै आएको छ । देउमाईले आव २०७९/८० मा दीर्घ रोगी ४० जनालाई दुई लाख रूपैयाँ उपचार खर्च उपलब्ध गराएको थियो ।
FACEBOOK COMMENTS