काठमाडौँ । यौन अपराधी जेफ्री एपस्टाइनसँग सम्बन्धित प्रकरणमा बेलायत प्रहरीले दोस्रो ठूलो कारबाही गरेको छ । अमेरिकास्थित बेलायतका पूर्व राजदूत पिटर म्यान्डेलसनलाई सार्वजनिक पदको दुरुपयोगको आशंकामा पक्राउ गरिएको हो ।
लन्डन महानगरीय प्रहरीले उत्तर लन्डनको एक ठेगानाबाट ७२ वर्षीय व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरी वक्तव्यमा नाम उल्लेख नगरिए पनि पक्राउ परेका व्यक्ति म्यान्डेलसन नै भएको पुष्टि भएको छ । उनीमाथि यौन दुर्व्यवहारको आरोप भने छैन ।
रिपोर्टअनुसार अमेरिकी न्याय विभागले सार्वजनिक गरेका थप कागजातपछि अनुसन्धान अघि बढाइएको हो । ती विवरणमा सन् २००९ को विश्व आर्थिक संकटका बेला व्यापार मन्त्री रहेका म्यान्डेलसनले एपस्टीनसँग बजारसम्बन्धी संवेदनशील सरकारी सूचना साझा गरेको संकेत भेटिएको दाबी गरिएको छ । त्यसबेला बेलायतका प्रधानमन्त्री गोर्डन ब्राउन थिए ।
म्यान्डेलसन यसअघि युरोपेली आयोगका आयुक्तसमेत भइसकेका थिए र पछि अमेरिका लागि बेलायतका राजदूत नियुक्त भएका थिए । तत्कालीन प्रधानमन्त्री किर स्टार्मरले उनलाई सन् २०२४ को डिसेम्बरमा राजदूत नियुक्त गरेका थिए भने सन् २०२५ को सेप्टेम्बरमा पदबाट हटाएका थिए ।
यसअघि यही प्रकरणमा बेलायती शाही परिवारसँग सम्बन्धित एन्ड्रु माउन्टब्याटेन- विन्डसरलाई पनि सोधपुछका लागि नियन्त्रणमा लिएर ११ घण्टापछि रिहा गरिएको थियो । प्रहरीले करिब १५ वर्षअघिको सम्भावित सूचना चुहावटबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।


FACEBOOK COMMENTS