काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले पेट्रोलियम पदार्थको अन्वेषणका लागि जग्गा प्राप्ति गर्न स्वीकृत गरेको छ । आज बसेको बैठकले पेट्रोलियम अन्वेषणका लागि दैलेख जिल्लाको भैरवी गाउँपालिका वडा नम्बर १ जलजलेमा रहेको ४५ रोपनी जग्गा प्राप्ति गर्न स्वीकृति दिएको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारले बागमती बाँध आयोजनाको काम अघि बढाउन काठमाडौँ जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा रहेको १४ रोपनी जग्गा प्राप्ति गर्न स्वीकृति दिने बताएकी छन् । त्यस्तै भारतमा आयोजना हुने नेपाल—भारत विद्युत् व्यापार सम्झौता अन्तर्गतको संयुक्त कार्य समूह तथा संयुक्त सञ्चालक समितिको १० औँ बैठकमा भाग लिन ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे नेतृत्वको प्रतिनिधि मण्डललाई सहभागी हुन स्वीकृति दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।
सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धि केही ऐनलाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेस गर्न स्वीकृति दिने निर्णय पनि गरिएको मन्त्री शर्माले बताइन् । उनका अनुसार २०७९ फागुन १ गतेदेखि ५ गतेसम्म हुने भारत भ्रमणका लागि रक्षामन्त्रीलाई स्वीकृति दिने निर्णय गरेको छ ।