काठमाडौँ । कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त हुने एक लाख डोज फाइजर खोप १२ वर्षमाथिका दीर्घरोगीलाई मात्र दिने निर्णय सरकारले गरेको छ।
यो खोप सोमबार नियमति उडानमार्फत अमेरिकाबाट नेपाल आइपुग्नेछ। कोभ्याक्स सुविधाअन्तर्गत अत्यन्त कम संख्यामा आएको हुनाले यो खोप पहिलो चरणमा १२ वर्षमाथिका दीर्घरोगीलाई मात्र दिने निर्णय भएको परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख सागर दाहालले बताए। ‘खोप एक लाख डोजमात्र छ। धेरैजनालाई दिन सम्भव छैन।
कोभ्याक्सको नियमअनुसार जोखिम समूहलाई पहिला दिने हो। त्यही निर्णय गरेका छौं’, दाहालले आइतबार नागरिकसित भने। कात्तिक २८ देखि मंसिर ३ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ। नेपालका मुख्य २४ वटा अस्पतालवाट यो खोप दिइने खोप शाखाले जनाएको छ। अमेरिकासँग किनेर ल्याइने भनिएको फाइजरको थप खोप आउने विषयमा यकिन नभएको खोप शाखाले जनाएको आजको नागरिक दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS