काठमाडौँ । मध्यपूर्वमा जारी युद्धको प्रभाव एसियासम्म फैलिँदै जाँदा फिलिपिन्समा ऊर्जा आपतकाल घोषणा गरिएको छ ।
फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोसले कार्यकारी आदेश जारी गर्दै देशको इन्धन आपूर्ति र ऊर्जा स्थिरतामा गम्भीर जोखिम देखिएको बताएका छन् । उनले मध्यपूर्वको अवस्थाका कारण ऊर्जा आपूर्तिमा तत्काल खतरा देखिएकाले राष्ट्रिय ऊर्जा आपतकाल घोषणा गरिएको स्पष्ट पारेका छन् ।
फिलिपिन्स आयातित इन्धनमा अत्यधिक निर्भर रहेको र उत्पादन तथा आपूर्ति अवरुद्ध हुँदा सबैभन्दा बढी प्रभावित हुने देशमध्ये एक भएकाले यस्तो कदम चालिएको हो । राष्ट्रपति मार्कोसका अनुसार यस निर्णयले सरकारले समन्वयात्मक रूपमा आवश्यक कदम चाल्न सहज हुने छ ।
सरकारले इन्धन, खाद्यान्न, औषधि तथा अन्य अत्यावश्यक वस्तुको आपूर्ति, वितरण र उपलब्धता सुनिश्चित गर्न विशेष समिति गठन गरेको छ । यो आपतकालीन व्यवस्था एक वर्षसम्म कायम रहने जनाइएको छ ।
तेलको मूल्य अत्यधिक बढेपछि नागरिकले भोगिरहेको कठिनाइलाई ध्यानमा राख्दै विभिन्न सांसदहरूले आपतकाल घोषणा गर्न आग्रह गरेका थिए । ऊर्जा मन्त्रीले हाल देशसँग करिब ४५ दिन पुग्ने इन्धन मौज्दात रहेको जानकारी दिएका छन् ।

बढ्दो तरलीकृत ग्यासको मूल्यका कारण ऊर्जा आवश्यकताका लागि अस्थायी रूपमा कोइला आधारित विद्युत उत्पादनमा निर्भरता बढाइने पनि जनाइएको छ ।

होर्मुज जलडमरुमा देखिएको अवरोधका कारण विश्वव्यापी तेल आपूर्ति प्रभावित भइरहेको छ । एसिया यसबाट विशेष रूपमा प्रभावित क्षेत्र हो, किनकि उक्त मार्गबाट हुने तेल र ग्यासको झन्डै ९० प्रतिशत आपूर्ति यही क्षेत्रमा आउने गरेको छ ।
FACEBOOK COMMENTS