काठमाडौं । फेसन शिक्षाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै आईआईएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइनका अध्यक्ष तथा शेर्पा ग्रुपका अध्यक्ष फुपु तेन्जिङ शेर्पा सम्मानित भएका छन् ।
सेजन मिडिया प्रालिद्वारा आयोजित एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६ (सिजन–७) अन्तर्गत शेर्पालाई ‘उत्कृष्ट फेसन शिक्षा’ अवार्ड प्रदान गरिएको हो ।
आइतबार काठमाडौंको कुपण्डोलस्थित होटल हिमालयमा आयोजित विशेष समारोहमा नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले शेर्पालाई उक्त अवार्ड प्रदान गरेका हुन् ।
फेसन शिक्षाको विकास, व्यावसायिक जनशक्ति उत्पादन तथा नेपाली फेसन क्षेत्रलाई संस्थागत रूपमा अगाडि बढाउन पुर्याएको योगदानको मूल्यांकन गर्दै शेर्पालाई उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ ।
शेर्पाको नेतृत्वमा सञ्चालन हुँदै आएको आईआईएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइनले नेपालमा फेसन तथा इन्टेरियर डिजाइन शिक्षालाई व्यावसायिक र व्यावहारिक रूपमा अघि बढाउँदै आएको छ ।

संस्थाले विद्यार्थीलाई कक्षाकोठाको सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक अभ्यास, डिजाइन, सिर्जनशीलता, बजार व्यवस्थापन, उद्यमशीलता तथा फेसन उद्योगसँग सम्बन्धित विभिन्न पक्षमा प्रशिक्षण दिँदै आएको छ ।

आईआईएफटीबाट हालसम्म हजारौँ विद्यार्थीले फेसन तथा जाइनसम्बन्धी शिक्षा तथा सीप हासिल गरिसकेका छन् ।
संस्थाले नेपाली फेसन उद्योगका लागि दक्ष जनशक्ति उत्पादन गर्नुका साथै विद्यार्थीलाई आफ्नै सिर्जनशील व्यवसाय तथा व्यावसायिक करियर निर्माणका लागि समेत प्रोत्साहित गर्दै आएको छ ।
अवार्ड ग्रहण गर्दै शेर्पाले प्राप्त सम्मानले आफूलाई फेसन शिक्षाको क्षेत्रमा अझ बढी जिम्मेवारी र उत्साहका साथ काम गर्न प्रेरित गरेको बताए ।
उनले यो सम्मान व्यक्तिगत उपलब्धिभन्दा पनि आईआईएफटीको सम्पूर्ण टोली, शिक्षक, विद्यार्थी, पूर्वविद्यार्थी तथा फेसन उद्योगसँग आबद्ध सहकर्मीहरूको सामूहिक प्रयासको सम्मान भएको बताए ।
नेपालमा फेसन शिक्षाको विस्तारसँगै अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष र सिर्जनशील जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । नेपाली फेसनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन शिक्षा, सीप, प्रविधि र उद्योगबीचको सहकार्यलाई थप मजबुत बनाउनुपर्ने उनले बताए ।
शेर्पा लामो समयदेखि शिक्षा, फेसन, डिजाइन तथा व्यवसायिक क्षेत्रमा सक्रिय छन् । आईआईएफटीको नेतृत्वसँगै उनी शेर्पा ग्रुपको अध्यक्षका रूपमा समेत विभिन्न व्यवसायिक तथा सामाजिक क्षेत्रमा संलग्न छन् ।
एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६ (सिजन–७) मा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएका व्यक्तित्व तथा पेशाकर्मीलाई सम्मान गरिएको थियो । समारोहमा प्रथम राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्य रहेको थियो ।
प्रथम राष्ट्रपतिको हातबाट प्राप्त ‘उत्कृष्ट फेसन शिक्षा’ अवार्डले नेपाली फेसन शिक्षाको क्षेत्रमा फुपु तेन्जिङ शेर्पाले पुर्याउँदै आएको योगदानलाई थप संस्थागत र प्रतिष्ठित बनाएको छ ।