काठमाडौं । नेपाल र चीन बिचको सिधा हवाई यात्रालाई थप सहज बनाउन आज असार ९ गते शनिवारदेखि काठमाडौँ–बेइजिङ सोझो हवाई उडान सुरु भएको छ । सो क्रमको थालनी गर्दै आज बिहान बिहान काठमाडौँबाट उडेको हिमालय एयरलाइन्सको विमान चीनको राजधानी बेइजिङ पुगेको छ ।
विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बिहान ७ बजेर ४० मिनेटमा उडान नम्बर एच नाइन ६६५ को जहाज चीन तर्फ प्रस्थान गरेको थियो । उक्त विमान बेइजिङस्थित तासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समयानुसार दिउँसो २ बजेर १५ मिनेटमा अवतरण भएको विमान कम्पनी सम्बद्ध स्रोतले जानकारी दिएको छ ।
दुई छिमेकी नेपाल र चीनको राजधानी बिचको यात्रा चार घण्टा ४५ मिनेटको रहेको छ । बेइजिङ पुगेको विमानले स्थानीय समयअनुसार दिउँसो ३ बजेर २५ मिनेटमा काठमाडौँ तर्फ उडान भर्ने छ । सो विमान काठमाडौँमा स्थानीय समय अनुसार साँझ ६ बजेर ३० मिनेटमा अवतरण हुनेछ ।
अब उप्रान्त काठमाडौँ र बेइजिङबिच नियमित उडान सञ्चालन भएको हिमालय एयरलाइन्सले जनाएको छ । सुखद संयोग नै मान्नुपर्छ आज भएको पहिलो उडानमा चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठ यात्रुका रुपमा बेइजिङ गएका छन् । उनी केही समय अघि छोरीको विवाहका लागि नेपाल आएका थिए ।
FACEBOOK COMMENTS