काठमाडौं । संयुक्त अरब इमिरेट्समा आयोजित ‘दुबई एअर शो’मा प्रदर्शनका क्रममा भारतको स्वदेशी लडाकु विमान ‘तेजस’ दुर्घटना भएको छ ।
भारतीय वायुसेनाले दुबई एअर शोमा तेजस विमान दुर्घटनाग्रस्त भएको पुष्टि गरेको छ । वायुसेनाका अनुसार दुर्घटनामा पाइलटको मृत्यु भएको छ ।
समाचार एजेन्सी पीटीआईले घटनासम्बन्धी एक भिडिओ पोष्ट गरेको छ । भिडिओमा एउटा विमान सीधा जमिनतर्फ खसेको देखिन्छ, त्यसपछि त्यहाँ आगो र कालो धुवाँको ठूलो मुस्लो उठेको देखिन्छ ।
पीटीआईका अनुसार उक्त विमान आज दिउँसो करिब २ बजेर १० मिनेटमा दुर्घटनाग्रस्त भएको हो ।
समाचार एजेन्सी एपीका अनुसार प्रदर्शनी दुबईको दोस्रो ठूलो अल–मकतुम इन्टरनेशनल एअरपोर्टमा भइरहेको थियो । दुर्घटना हुँदा विमानस्थलमा ठूलो धुवाँ उठेको थियो र साइरनको आवाज आएको थियो ।

सिङ्गल इन्जिन भएको तेजस लडाकु विमान पूर्ण रूपमा स्वदेशी प्रविधिबाट बनेको हो । यसको निर्माण कम्पनी हिन्दुस्तान एअरोनटिक्स लिमिटेड (एचएएल) हो ।

यो विमानले टाढाबाटै शत्रुका विमानहरूमा निशाना लगाउन सक्छ र शत्रुका राडारलाई छक्याउने क्षमता पनि राख्छ । यसमा त्यति नै हतियार तथा मिसाइल बोक्ने क्षमता छ, जति बढी तौल भएको सुखोइ विमानले बोक्न सक्छ ।

यही वर्ष सेप्टेम्बरमा भारतीय रक्षा मन्त्रालयले एचएएलसँग ९७ वटा तेजस विमान खरिद गर्ने सम्झौतामा हस्ताक्षर गरेको थियो । यी विमानहरू २०२७ देखि आपूर्ति हुने अपेक्षा गरिएको छ ।

यसअघि २०२१ मा भारत सरकारले एचएएलसँग ८३ वटा तेजस विमान खरिद गर्ने सम्झौता गरेको थियो । ती विमानहरूको डेलिभरी २०२४ मै हुनुपर्ने थियो, तर अमेरिकाबाट आयात हुने इन्जिन अभावका कारण ढिलाइ भएको हो ।
FACEBOOK COMMENTS