काठमाडौं । बंगलादेश वायुसेनाको प्रशिक्षण विमान ढाकाको कलेजमा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ ।
बंगलादेशको मिडिया डेली स्टारका अनुसार कलेजमा कक्षा चलिरहेको बेला भएको एयर फोर्सको जेट दुर्घटनामा २० जनाको मृत्यु भएको र २ जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
त्यस्तै दुर्घटनामा १७१ जना घाइते भएका छन् । घाइते कैयौंको अवस्था गम्भीर रहेको रिपोर्टमा उल्लेख छ ।
विमान ढाकाको उत्तरा मोडेल टाउनको सेक्टर ११ स्थित गरिब–ए–नेवाज एभिन्यूमा रहेको माइलस्टोन स्कूल र कलेजको मुख्य क्याम्पसमा खसेको थियो ।
बंगलादेश वायुसेनाले दुर्घटनाको अनुसन्धान गर्न र यसको कारण पत्ता लगाउन उच्चस्तरीय समिति गठन गरेको छ । सेनाले पाइलट, फ्लाइट लेफ्टिनेन्ट तौकिर इस्लाम, नियमित प्रशिक्षण मिसनमा रहेको र जेटको यान्त्रिक विफलताको सामना गरेपछि दुर्घटना भएको जनाएको छ । साथै सेनाले वास्तविक कारण अनुसन्धानपछि पत्ता लाग्ने बताएको छ ।
सेनाले पाइलटले विमानलाई घना बस्ती भएका क्षेत्रहरूबाट टाढा लैजान खोजेको तर उनको प्रयासका बाबजुद विमान स्कूल भवनमा ठोक्किएको बताएको छ ।
FACEBOOK COMMENTS