काठमाडौं । भारतको अहमदाबादमा एअर इण्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान अहमदाबाद सिभिल अस्पतालका इन्टर्न डाक्टरहरू बस्ने घरमा ठोक्किएको पाइएको छ ।
इन्टर्न डाक्टरहरूको होस्टेलमा विमान ठोक्किएकाले त्यहाँ बस्ने डाक्टरहरू पनि हताहत भएको हुनसक्ने आशङ्का गरिएको छ । भारतीय मिडियाहरूले सो होस्टेलमा ५० देखि ६० इन्टर्न डाक्टरहरू रहेको दाबी गरेका छन् । उनीहरूको अवस्थाबारे स्पष्ट जानकारी आएको छैन ।
विमानमा लागेको आगोको धुवाँले होस्टेलको भवन पूर्ण रूपमा कालो भएको छ र जताततै भग्नावशेष मात्र रहेको रिपोर्टमा उल्लेख छ ।
एअर इण्डियाको उडान नम्बर एआई–१७१ बिहीबार दिउँसो भारतीय समयअनुसार १ बजेर ३८ मिनेटमा उडान भरेको दुई मिनेटपछि नै दुर्घटनाग्रस्त भएको थियो ।
विमानमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रूपाणीसहित २४२ यात्रु सवार रहेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । विमानमा १६९ भारतीय, ५३ बेलायती, सात पोर्चुगिज र एक क्यानेडियन नागरिक सवार रहेको एअर इण्डियाले जानकारी दिएको छ ।
FACEBOOK COMMENTS