तीन लाख बिरुवा निःशुल्क वितरण गरिने
कर्पोरट खबर
7:20 am, शनिबार, असार १५, २०८१
दाङ । डिभिजन वन कार्यालय दाङले तीन लाख बिरुवा तयार गरेको छ । तयार पारिएका बिरुवा कार्यालयले निःशुल्क वितरण गर्ने भएको छ ।
राष्ट्रिय वृक्षरोपण दिवसको अवसरमा शुक्रबारदेखि जिल्लामा बिरुवा रोप्ने कार्य थालिएको छ । ‘भावी सन्तति र समृद्धिका लागि वृक्षरोपण गरौँ’ नाराका साथ डिभिजन वन कार्यालयले घोराही उपमहानगरपालिका–४ सुनपुरस्थित सुनपुर सामुदायिक वनको खाली क्षेत्रमा वृक्षरोपण गरी सो कार्यको थालनी गरेको हो ।
सुनपुर सामुदायिक वनको खाली रहेको करिब एक हेक्टर वनमा ‘अर्जुन’ प्रजातिका एक सय बिरुवा रोपण गरी वृक्षरोपण थालिएको सिनियर डिभिजनल वन अधिकृत मोहनप्रसाद श्रेष्ठले जानकारी दिए । यस वर्ष डिभिजन वन कार्यालय घोराहीअन्तर्गतका पाँचवटा नर्सरीमा झण्डै तीन लाख बिरुवा उत्पादन गरिएको हो ।
जडीबुटी, वनजन्य र सौन्दर्यजन्य बिरुवा तयार गरिएको र असार अन्मित हप्तादेखि निःशुल्करुपमा वितरण गरिने वन अधिकृत श्रेष्ठले बताए । यस वर्ष राष्ट्रिय वन, सामुदायिक वन, निजी वन र उपभोक्तालाई आफ्नो खाली जग्गामा बिरुवा रोप्न आग्रह गरिएको उनको भनाइ छ । नदी उकास क्षेत्रमा समेत वृक्षरोपण गर्ने लक्ष्य छ ।
FACEBOOK COMMENTS