काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभकामना व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७३ देखि प्रारम्भ भई हरेक वर्ष जुन ५ तारिखको दिन यो दिवस मनाउँदै आएको हो ।
५०औँ वार्षिकोत्सवका अवसरमा उनले यस वर्ष विश्वव्यापी रूपमा तय भएको नारा ‘विट प्लाष्टिक पोलुसन’ र मूल विषय ‘सोलुसन टु प्लास्टिक पोलुसन’ लाई हाम्रो आफ्नै मौलिक शैलीमा ‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने राष्ट्रिय नाराकासाथ देशव्यापी रूपमा मनाउन लागिएको छ । आ–आफ्नो ठाउँबाट यस राष्ट्रिय अभियानमा सरिक हुन सबैमा उनले शुभकामना मार्फत आव्हान गरे ।
प्लाष्टिक प्रदूषणलाई प्रमुखताका साथ उजागर गर्ने गरी यस दिवस मनाउन गइरहेका छौँ । प्लास्टिक हाम्रो आधुनिक जीवनको अभिन्न अङ्ग बनिसकेको छ । एकातर्फ, यसले उद्योगमा क्रान्ति ल्याएको छ, हाम्रो दैनिक सुविधाहरूमा सुधार गरेको छ र हामीलाई अनगिन्ती लाभहरू प्रदान गरेको छ । अर्कोतर्फ, यसको अत्यधिक र अव्यवस्थित प्रयोगले ठुलो वातावरणीय समस्या सिर्जना गरेको छ । हाम्रा महासागरहरू, ल्यान्डफिल साइटहरू, समथर भूमि, पहाडी, उच्च पहाडी र हिमाली क्षेत्रहरू जताततै प्लास्टिकको फोहोरले भरिएका छन्, जसले मानव स्वास्थ्य र समग्र पारिस्थितिक प्रणालीलाई अपरिवर्तनीय क्षति पुर्याउने खतरा बढ्दै गइरहेको छ शुभकामना सन्देशमा उल्लेख छ ।
प्रत्येक वर्ष, विश्वव्यापी रूपमा चार सय मिलियन टनभन्दा बढी प्लास्टिकका सामाग्रीहरू उत्पादन हुने गरेको र यसको ठुलो हिस्सा विभिन्न नदी प्रणाली हुँदै महासागरहरूमा पुग्ने गरेको छ । यसले पारिस्थितिक प्रणालीलाई समेत नराम्रोसँग असर पुर्याउन सक्ने देखिएको हुँदा यसको नकारात्मक प्रभावसँग जुध्ने प्रयास स्वरूप संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको अग्रसरतामा प्लास्टिक पोलुसन ट्रिटी सम्बन्धी कार्य भइरहेको र यसमा नेपालको समेत सहभागिता रहँदै आएको जानकारी दिएका छन् ।
FACEBOOK COMMENTS