लन्डन । प्रधानमन्त्री शेरबहादुर देउवालेने पालमा विदेशी लगानी भित्र्याउन आवश्यक सुविधा दिन सरकार तयार रहेको बताए । उनले नेपालमा बेलायती लगानी भित्र्याउन आह्वान गरे ।
संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि (कोप–२६)को पक्षको २६ औँ सम्मेलनको वल्र्ड लिडर समिटमा सहभागी हुन बेलायत आएका प्रधानमन्त्री देउवाले शनिबार गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) युकेको प्रतिनिधिमण्डलसँग सो आह्वान गरे । त्यस अवसरमा प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै उनले विदेशी लगानी भित्र्याउन गैर आवासीय नेपालीलाई प्रेरित गर्दै नेपाल आउन चाहने जो सुकैलाई अनअराइभल प्रवेशाज्ञा व्यवस्था गरिएको बताए ।
उनले कोभिड–१९ का बखत बेलायत सरकारले नेपाललाई खोप उपलब्ध गराएर ठूलो सहयोग गरेको स्मरण गर्दै आगामी चैतसम्ममा नेपाललाई पूर्ण कोभिडमुक्त मुलुक बनाउने प्रतिबद्धता व्यक्त गरे । ज्ञापनपत्रमा गैरआवासीय नेपाली नागरिकलाई मतदानमा भाग लिने व्यवस्था गर्न, नेपाल–बेलायत सिधा हवाई उडान सञ्चालन गर्न र नेपालमा विदेशी लगानी भित्र्याउन सुगम कानुनी व्यवस्था हुनुपर्ने उल्लेख गरिएको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS