काठमाडौं । सरकारले लुम्बिनी विकास कोषको सदस्य(सचिव पदमा गोरखाका दीपक श्रेष्ठलाई मनोनित गरेको छ।
मन्त्रिपरिषद्ले ३६ वर्षीय श्रेष्ठलाई सदस्य सचिवमा मनोनित गरेपछि प्रधानमन्त्री एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुशीला कार्कीले धार्मिक संस्थामा धर्मको हेक्का राखेर काम गर्न निर्देशन दिएकी छिन् ।
‘तपाईँलाई सरकारले विश्वास गरेर जुन जिम्मेवारी दिएको छ, इमानदारीसाथ त्यो पूरा गर्नुहोला। त्यो ९लुम्बिनी० धार्मिक संस्था हो। धर्मको हेक्का राखेर काम गर्नुहोला। तपाईँको अहिलेको कामले भविष्यमा तपाईँका सन्ततिले पनि शिर ठाडो पारेर हिँड्न सकून्। गौरव गर्न सकून्।’
श्रेष्ठले पनि उक्त संस्था र पदको गरिमामा आँच आउन नदिने गरी इमानदारीसाथ काम गर्ने वचन व्यक्त गरे ।
गोरखाको सहिद लखन गाउँपालिका वडा नं ६ का श्रेष्ठले इन्जिनियरिङ, व्यवस्थापन र प्रशासनमा १७ वर्षको अनुभव सँगालेका छन् ।
मेकानिकल इन्जिनियरिङमा डिप्लोमा गरेका उनले सिभिल इन्जिनियरिङमा स्नातक र यातायात इन्जिनियरिङ तथा व्यवस्थापनमा एमएस्सी गरे ।

केही समय नागरिक उड्डयन प्राधिकरणमा काम गरेपछि श्रेष्ठ २०६७ बाट नेपाल खानेपानी संस्थानमा प्रवेश गरेका थिए ।

संस्थानका बनेपा र धरानका शाखा प्रमुख सम्हालेपछि उनी २०७० मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा खटिएका थिए ।

अख्तियारमा उनले ८ वर्ष भ्रष्टाचारसम्बन्धी अनुसन्धानको काम गरे । उनलाई खानेपानी संस्थान र अख्तियार गरी दुवै संस्थाले उत्कृष्ट कार्यसम्पादनका लागि पुरस्कृत पनि गरेका थिए।

इमानदारीसाथ राम्रो अनुसन्धान गरेकै कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ मा उत्कृष्ट कर्मचारी घोषित गरी पुरस्कार नै दिएको र संस्थानले पनि विभिन्न समयमा पुरस्कृत गरेको उनले बताए ।

अख्तियारमा रहेकै बखत बढुवा भएपछि श्रेष्ठ २०७८ मा खानेपानी संस्थानमै फर्किएका थिए । पछिल्लो समय उनले संस्थानको प्राविधिक अनुगमन तथा निरीक्षण शाखाको प्रमुख भएर काम गरेका थिए ।
FACEBOOK COMMENTS