काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगहरूमा बिजुलीको लाइन काटेर डेडिकेटेड र ट्रङ्क लाइनको महसुल विवाद अन्त्य नहुने बताएका छन् ।
डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपभोग गरेका उद्योगीहरूसँग आज बुधबार भएको भेटमा प्रधानमन्त्री ओलीले उद्योगहरूमा बिजुलीको लाइन काटेर समस्याहरू समाधान नहुने बताएका हुन् । प्रधानमन्त्री ओलीले पछिल्लो समय लाइन काटिएका उद्योगहरूमा लाइन जोड्ने र महसुल विवादको समस्या समाधान गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको बताइएको छ ।
डेडिकेटेड र ट्रङ्क लाइनको महसुल विवादमा नेपाल विद्युत् प्राधिकरणले पछिल्लो समय विभिन्न ६ वटा उद्योगमा लाइन काटेको छ । त्यसप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्री ओलीले उद्योगको लाइन काटेर समाधान ननिस्कने भएकाले चाँडै लाइन जोडेर विवाद समाधान गर्ने प्रतिवद्धता जनाएको एक उद्योगीले जानकारी दिए ।
उद्योगहरूमा लाइन काटिँदा उत्पादन बन्द हुनाका साथै निर्यातका लागि अर्डरहरू रद्ध हुनु दुःखद पक्ष भएको प्रधानमन्त्री ओलीको भनाइ छ । उनले विगत ६ वर्षदेखिको डेडिकेटेड र ट्रङ्क लाइन विवाद समाधान गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्क लाइन उपभोग गरेको प्रमाण (टीओडी) मिटरको तथ्याङ्क देखाउन नसकेको भन्दै उद्योगीहरूले महसुल नबुझाएका हुन् । यस सम्बन्धमा विगतका सरकारले छानविन समिति समेत बनाएर अध्ययन गरी प्रतिवेदन सरकारलाई बुझाइसकेको छ ।
उद्योगीहरूले सोही प्रतिवेदनका आधारमा काम अघि बढाउन प्राधिकरणलाई आग्रह गर्दै आएको भए पनि उसले टेरेको छैन र बारम्बार बिल काट्ने र लाइन काट्ने श्रृङ्खलाहरू चलाउँदै आएको छ ।
FACEBOOK COMMENTS