काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एअर इण्डियाको अहमदाबादमा भएको विमान दुर्घटनामा बाँचेका भारतीय मूलका बेलायती यात्रु विश्वास कुमार रमेशसँग भेट गरेका छन् ।
शुक्रबार अहमदाबादस्थित सिभिल अस्पताल पुगेर मोदीले रमेशलाई भेटेका हुन् । रमेश २४२ यात्रु सवार दुर्घटनाग्रस्तको बोइङ ७८७–८ उडानमा बाँचेका एकमात्र यात्रु हुन् ।
एअर इण्डियाले विमानमा यात्रा गरेका २४२ जनामध्ये २४१ जनाको मृत्यु भएको जानकारी दिएको हो । जसमा १२ जना विमानका चालक दलका सदस्य थिए । मृत्यु हुनेमा १६९ जना भारतीय, ५२ जना बेलायतका, ७ जना पोर्चुगलका र एक जना क्यानडाका नागरिक रहेको एअर इण्डियाले जानकारी दिएको छ ।
सिभिल अस्पतालमा उपचारत विश्वासले उडान भरेको ३० सेकेन्डपछि ठूलो आवाज सुनेको र आफू होशमा आउँदा वरिपरि लाश मात्र देखेको बताएका छन् । उनले भनेका छन्, ‘जब म होशमा आएँ, मेरो वरिपरि लाशहरू छरिएका थिए । म धेरै डराएँ । म उठेँ र दौडन थालेँ । मेरो वरिपरि विमानको भग्नावशेष छरिएको थियो । कसैले मलाई समातेर एम्बुलेन्समा राखेर अस्पताल लग्यो ।’
FACEBOOK COMMENTS