छन्दु चीन । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आज चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तका सचिव वाङ सिआवोइले द्विपक्षीय भेटवार्ता गरेका छन् । सिचुआन प्रान्तको छन्दु आइपुगेका प्रधानमन्त्री दाहालसँग वाङले भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासाबाट आजै छन्दु आएका हुन् ।
वार्ताका क्रममा प्रधानमन्त्री दाहालले छन्दु नेपालबाट नजिकको सहर भएकाले नेपाली व्यवसायीहरूको पनि केन्द्र रहेको भन्दै यहाँबाट नेपालले कृषि उत्पादन तथा कृषिजन्य उद्योगका क्षेत्रमा पनि आवश्यक मात्रामा लाभ लिन सक्ने बताए ।
प्रधानमन्त्री दाहालले आफूले यस पटक चीनका राष्ट्रपति सि चिनफिङका साथै प्रधानमन्त्रीसँग पनि द्विपक्षीय भेटवार्ता गर्ने अवसर पाएको र उनीहरूले नेपाललाई दिएको महत्त्वबाट आफू प्रभावित रहेको बताए ।
प्रधानमन्त्री दाहालले चीनले विज्ञान प्रविधि तथा भौतिक विकासदेखि लिएर धेरै क्षेत्रमा निकै नै महत्त्वपूर्ण प्रगति गरेकामा बधाई ज्ञापन गर्दै चीन नेपालको एक घनिष्ट मित्र रहेका नाताले सदैव नेपालको हित र विकास चाहने गरेको बताए ।
चीनले नेपाललाई अप्ठेरो अवस्थामा पनि सहयोग गर्दै आएको प्रसङ्ग उल्लेख गर्दै यस पटकको चीन भ्रमणले दुई देशबीचको मित्रतालाई थप सुमधुर बनाउन काम गरेको र द्विपक्षीय सम्बन्धका नयाँ आयामहरू सिर्जना गरेको प्रधानमन्त्री दाहालले सो द्विपक्षीय वार्तामा बताएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
सो वार्ताका क्रममा सचिव वाङले चीन र नेपालसँगै रहेको र अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि एउटै आवाजका साथमा एकसाथ रहेको बताए । उनले चीन नेपालको सधैँ उन्नति र प्रगतिको पक्षमा रहेको र नेपालका आर्थिक सामाजिकलगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको बताए ।
उनले प्रधानमन्त्री दाहालको चीन भ्रमण सफल भएकामा बधाई दिँदै आगामी दिनमा नेपालका विभिन्न क्षेत्रमा सहयोग गर्न तथा लगानी गर्न तयार रहेको बताए ।
प्रधानमन्त्री दाहाल र उनको भ्रमण दलका सदस्यहरू शनिबार छन्दुबाटै काठमाडौँ फर्किने कार्यक्रम रहेको छ । प्रधानमन्त्री दाहाल गएको शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका छन् ।
FACEBOOK COMMENTS