काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशभित्र उत्पादित बिजुली क्रमशः भारतीय र बङ्गलादेशको बजारमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले हालै मात्र नेपाल र भारतका ऊर्जा सचिवहरूको संयुक्त बैठकले नेपालको बिजुली निर्यातका लागि थप मार्ग प्रशस्त गरेको सन्दर्भ जोड्दै मुलुकको व्यापार घाटा घटाउनका लागि ऊर्जाको निकासी नै उपयुक्त माध्यम बन्ने बताए ।
आर्थिक विकास र व्यापार घाटा घटाउनका लागि उपयुक्त माध्यमका रूपमा रहेको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि सरकार निजी क्षेत्रसँग मिलेर काम गर्ने र जस्तोसुकै समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
साहस ऊर्जासँग जोडिएका सबै सङ्घ संस्थालाई सरकारको तर्फबाट बधाई दिँदै प्रधानमन्त्रीले ऐतिहासिक रेकर्ड बनाएकामा साहस ऊर्जालाई थप आयोजना निर्माणका लागि आग्रह गरे । उनले साहस ऊर्जाको प्रयासले आगामी दिनमा निजी क्षेत्रलाई थप आयोजना निर्माणका लागि उच्च मनोबल प्रदान गरेको तथा नयाँ आयाम खडा गरेकामा प्रसन्नता व्यक्त गरे ।
प्रकृतिले दिएको अपार जलस्रोतको उपयोग गरेर मात्रै मुलुकलाई आर्थिक विकास र समृद्धिको यात्रामा अगाडि लैजान सकिने प्रधानमन्त्रीको भनाइ छ । आफू पहिलो पटक प्रधानमन्त्री बन्दा ठूला र रणनीतिक महत्त्वका परियोजना शुरु गर्नुपर्छ भन्ने घोषणा गरेको स्मरण गर्दै उनले क्रमशः ती आयोजना अगाडि बढेको र त्यसले मुलुकको आकांक्षालाई पूरा गर्ने बताए ।
दोस्रो पटक प्रधानमन्त्री बन्दा आफूले व्यावहारिक तथा प्राविधिकरूपमा लोडसेडिङको अन्त्य गरेको प्रधानमन्त्रीले पुनः स्मरण गरे । सबै तह र तप्काबाट दृढ इच्छाशक्तिका साथ देश बनाउने प्रतिबद्धता व्यक्त गरियो भने त्यसबाट सकारात्मक प्रभाव पर्ने, व्यापार घाटा घटाउनका लागि पनि बिजुली बिक्री नै उपयुक्त माध्यम बन्ने उनको भनाइ छ ।
अब हाइड्रोजनबाट चल्ने सवारी चढ्छु
प्रधानमन्त्री प्रचण्डले ऊर्जा क्षेत्रमा भएको विकासले ग्रीन हाइड्रोजनमा फड्को मार्ने उपयुक्त अवसर आएको बताए । विकसित देशमा हाइड्रोजनको प्रयोगको मात्रामा गुणात्मक वृद्धि हुँदै गरेको तथ्य पेश गर्दै प्रधानमन्त्रीले नेपाल पनि क्रमशः त्यसतर्फ अग्रसर हुने उल्लेख गरे ।
प्रधानमन्त्रीले डिजेल र पेट्रोलको सवारी साधन छाडेर आफूलाई हाइड्रोजन सवारी साधन चढ्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सुझाव दिएको र त्यसको तयारीमा रहेको जानकारी दिए । उनले ग्रीन इनर्जीबाट ग्रीन हाइड्रोजनतर्फ जाने सोचका साथ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा समेत छलफल भएको बताए ।
निजी तथा सार्वजनिक क्षेत्रको सहकार्य बिना आर्थिक विकासको प्रक्रिया अगाडि बढ्न नसक्ने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले निजी क्षेत्रले अगाडि बढाएका सबै आयोजनाको सहजीकरण गर्ने र समस्या समाधान गर्ने विश्वास दिलाए ।
सोलुखोला दूधकोसी जलविद्युत् आयोजना निजी क्षेत्रले निर्माण गरेको हालसम्मकै सबैभन्दा ठूला आयोजना हो । सो आयोजनाको क्षमता ८६ मेगावाट छ । साहस ऊर्जाका अध्यक्ष हिम पाठकले पाँच सय मेगावाटसम्मका जलाशययुक्त आयोजना स्वदेशी लगानीमा निर्माण गर्न सक्छौँ भन्ने अनुभव आफूहरूले प्राप्त गरेको बताउनुभयो ।
विनाशकारी भूकम्प, नाकाबन्दी, कोरोना महामारीलगायतका कारणले अपेक्षित समयमा पूरा हुन नसकेको भए पनि ठूला आयोजना निर्माण गर्न सकिन्छ भन्ने प्रमाणित भएको उनले जानकारी दिए । जलविद्युत् क्षेत्रको विकासको माध्यमबाट मात्रै समृद्धि प्राप्त हुने हुँदा विद्युत् खरिद बिक्रीको इजाजतपत्र प्रदान गरिदिन उनले प्रधानमन्त्रीसमक्ष आग्रह गरे ।
आयोजनाको परीक्षण उत्पादन सम्पन्न भई हाल व्यावसायिक उत्पादन सुरु भएको छ । आयोजनाबाट उत्पादित बिजुली एक सय ३२ केभी क्षमताको सोलु करिडोर प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । आयोजना आफैँले १२ किलोमिटर लामो एक सय ३२ केभी क्षमताको प्रसारण लाइन निर्माण गरेको छ ।
कार्यक्रममा स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल ९इपान०का अध्यक्ष कृष्णप्रसाद आचार्यले प्रकृतिले दिएको अथाह जलशक्तिको उपयोग गरेर आर्थिक समृद्धिको मार्ग प्रशस्त हुने बताए ।
ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको प्रवेशपछि नै मुलुकको ऊर्जा क्षेत्रमा गुणात्मक परिवर्तन भएको भए पनि आयोजना निर्माणपूर्व सात मन्त्रालय र २१ विभाग पुग्नुपर्नेजस्ता समस्या रहेकाले त्यसको उचित सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए ।
ऊर्जा क्षेत्रमा निजी क्षेत्रको लगानी अभिवृद्धि भइरहेको जानकारी दिँदै उनले विद्युत् प्रवर्द्धकले स्थानीयस्तरमा भोग्नुपरेको समस्या समाधान गर्न अनुरोध गरे । अध्यक्ष आचार्यले बिजुलीको आन्तरिक खपत बढाउन तथा बाह्य मुलुकमा बिक्रीका लागि अनुमति दिन आग्रह गरे ।
FACEBOOK COMMENTS