काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा आर्थिकरूपमा देखिएको अस्थिरता र प्रतिकूल अवस्था समाधानका लागि सरकार प्रतिबद्ध रहेको बर्ताका छन् ।
नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम० रामग्राम नगरपालिकाले बुद्ध जयन्तीको अवसरमा रामग्राम स्तूपमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले भने, “आर्थिकरूपमा देशमा अहिले जे जस्तो परिस्थिति देखिएको छ, त्यसको समाधान गर्ने हिसाबले सुशासन र सामाजिक न्याय स्थापित गर्ने कुरामा हामी अघि बढिरहेका छौँ ।”
प्रधानमन्त्री दाहालले बृहत्तर लुम्बिनी विकासको गुरुयोजनाअन्तर्गत रामग्राम स्तूप एक महत्त्वपूर्ण धार्मिक एवं पर्यटकिय स्थल रहेको बताए । बुद्ध दर्शनले लाखौँ मानिसलाई सामाजिक ऐक्यबद्धता र सद्भावको मार्गमा डोर्याउन महत्त्वपूर्ण भूमिका खेलेको उनले उल्लेख गरे ।
बुद्ध सर्किटको अवधारणाअन्तर्गत चार वर्षअघि तयार भएको गुरुयोजनाको बारेमा चर्चा गर्दै प्रधानमन्त्री दाहालले रामग्राम स्तूप र बुद्धसँग जोडिएका हरेक धार्मिक स्थलको विकास गर्न सरकार तत्कालै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
सो अवसरमा श्रीलङ्काबाट उपहारस्वरूप प्राप्त भएको भगवान् गौतम बुद्धको अस्तुधातुको अवशेष प्रधानमन्त्रीलाई देखाइएको थियो ।
भगवान् गौतम बुद्धको एक मात्र अस्तुधातु रहेको ऐतिहासिक धार्मिक स्थलको रामग्राम नगरपालिकाले संरक्षण गर्दै आइरहेको छ । कार्यक्रममा रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले स्तूपको विकासका लागि प्रधानमन्त्रीलाई आग्रह गरे ।
FACEBOOK COMMENTS