काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले शासकीय सुधार, सेवा प्रवाहको प्रभावकारिता र सुशासन प्रवर्द्धनलाई केन्द्रमा राख्दै विभिन्न मन्त्रालय, आयोग, सचिवालय, प्रदेश तथा स्थानीय तहसहित मातहतका निकायलाई लक्षित गरी करिब ४० निर्देशिका, कार्यविधि र निर्देशन परिपत्र जारी गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकार गठन भएयता प्रशासनिक संयन्त्रलाई चुस्त, पारदर्शी, जवाफदेही र जनमुखी बनाउने उद्देश्यले करिब ४० निर्देशिका, कार्यविधि, निर्देशन परिपत्र जारी गरेको छ । यी मध्ये अधिकांश निर्देशिका, कार्यविधि, निर्देशन परिपत्र सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको प्रभावकारी कार्यान्वयनसँग प्रत्यक्ष रूपमा सम्बन्धित छन् ।
सरकारका निर्देशिका, कार्यविधि, निर्देशन परिपत्र मुख्यतः प्रशासनिक सुधार, सेवा प्रवाह, मितव्ययिता, कृषि तथा व्यापार प्रवर्द्धन, प्राकृतिक स्रोत व्यवस्थापन, भ्रष्टाचार निवारण, सुशासन, सार्वजनिक उत्तरदायित्व, शिक्षा, स्वास्थ्य, वैदेशिक रोजगार, स्वास्थ्य बिमा सुधार तथा नागरिक गुनासो सम्बोधनमा केन्द्रित रहेका छन् ।
प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार प्रशासनिक ढिलासुस्ती अन्त्य गर्ने, डिजिटल गभर्नेन्समा जोड दिने, अनावश्यक प्रक्रियागत झन्झट हटाउने, सरकारी खर्चमा मितव्ययिता कायम गर्ने तथा नागरिकलाई छिटोछरितो र प्रभावकारी सेवा उपलब्ध गराउने लक्ष्यका साथ यी निर्देशिका, कार्यविधि र निर्देशन परिपत्र जारी गरिएका हुन् ।
प्रशासनिक प्रक्रियालाई छरितो बनाउन ‘बिजनेस प्रोसेस रिइञ्जिनियरिङ’ (बिपीआर) मार्गदर्शन कार्यान्वयन गरी निर्णय प्रक्रियालाई बढीमा तीन तहमा सीमित गर्ने व्यवस्था गरिएको छ भने सबै सरकारी निकायमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जीआइओएमएस) सुदृढीकरण बढाइ डिजिटल प्रणालीमार्फत काम कारबाही अघि बढाउन निर्देशन दिइएको छ ।

साथै ‘शून्य बाँकी फाइल’ अभियान, गुनासो व्यवस्थापन, विवरण अद्यावधिक तथा संस्थागत स्मृति कायम गर्ने जस्ता सुधारका कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वयन गर्नेमा जोड दिइएको छ । उक्त परिपत्रमार्फत सरकारी खर्चमा मितव्ययिता कायम गर्न अत्यावश्यक बाहेकका नयाँ सामग्री खरिदन गर्न, पुराना सामग्री मर्मत गरेर प्रयोग गर्न तथा सवारीसाधनको दुरुपयोग रोक्न कडा व्यवस्था लागू गरिएको छ ।
शासकीय सुधारका कार्यमा असर पर्न नदिने उद्देश्यले केही समयका लागि कर्मचारीहरूको वैदेशिक भ्रमण रोक्नेसम्बन्धी निर्देशन दिइएको थियो । कृषि तथा उत्पादन क्षेत्रको प्रवर्द्धनका लागि चिस्यान केन्द्र (कोल्ड स्टोर) पूर्ण क्षमतामा सञ्चालन गर्ने, दूध तथा दुग्धजन्य पदार्थको खपत बढाउने, कृषिजन्य उपज आयातको विवरण व्यवस्थित गर्ने र रासायनिक मल वितरण र मौज्दातको अवस्थालाई पारदर्शी बनाउने सम्बन्धमा समेत निर्देशन परिपत्र गरिएको छ ।
ओ एण्ड एम गाइडलाइनसम्बन्धी निर्णय कार्यान्वयनका लागि सबै मन्त्रालयलाई असार मसान्तभित्र स्वीकृत गर्ने निर्णयसहित पत्राचार गरिएको छ । आर्थिक वर्ष २०८३÷८४ को वार्षिक कार्ययोजना तयारीसम्बन्धी मार्गदर्शन तथा वार्षिक कार्यक्रमको अवधारणा तयार गर्नेसम्बन्धी मार्गदर्शनसमेत जारी गरिएको छ ।
मदरसाहरूको आर्थिक व्यवस्थापनसम्बन्धी विवरण उपलब्ध गराउने, विभिन्न विश्वविद्यालय तथा निकायका उपकुलपतिलगायत पदाधिकारीहरूको पदमुक्ति, माध्यमिक तहका सबै विषयको टेलिभिजनमार्फत कक्षा सञ्चालन, नेपाल औषधि लिमिटेडलाई सबल बनाउने, एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकहरूको स्टाइपेन्ड तथा कार्य समय, वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकहरूको व्यवस्थापन, स्वास्थ्य बिमा कार्यक्रम सुधार तथा गैरसरकारी संस्था (एनजीओ-आईएनजीओ) र समाज कल्याण परिषद्को व्यवस्थापनसम्बन्धी विषयमा निर्देशिका, कार्यविधि र निर्देशन परिपत्र जारी गरिएको छ ।
प्राकृतिक स्रोतको संरक्षणका लागि नदीजन्य तथा खानीजन्य पदार्थको अवैध उत्खनन, सङ्कलन र ओसारपसार नियन्त्रण गर्न विशेष निर्देशन जारी गरिएको छ भने राष्ट्रिय सरसफाइ सप्ताह सञ्चालनमार्फत कार्यालय सरसफाइ वातावरणीय स्वच्छता कायम गर्न प्राथमिकता दिइएको छ । सबै मन्त्रालय, आयोग, सचिवालय तथा कार्यालयलाई भ्रष्टाचारजन्य क्रियाकलाप प्रभावकारी रूपमा नियन्त्रण गर्न निर्देशन दिइएको छ । नागरिकप्रति सरकारी निकायको उत्तरदायित्व बढाउन कार्यालय प्रमुख, प्रवक्ता र सूचना अधिकारीको विवरण नियमित अद्यावधिक गर्न तथा कार्यालय समयमा अनिवार्य रूपमा फोन उठाइ गुनासो सम्बोधन गर्न समेत निर्देशन दिइएको छ ।