चितवन । चिसो मौसममा निमोनिया गराउने ‘भाइरस’ सक्रिय हुने हुँदा यसबाट बच्न विज्ञ चिकित्सकको सुझाव छ । जाडो मौसममा बालबालिकादेखि बृद्धबृद्धासम्मलाई निमोनियाको संक्रमण धेरै हुने जनाउँदै सावधानी अपनाउन सुझाव दिइएको हो ।
केही वर्षअघिसम्म राजधानीबाहिर विशिष्टिकृत सेवा अभाव हुँदा बिरामीहरू काठमाडौं केन्द्रित हुने गर्दथे । पछिल्ला दिनहरूमा विशिष्टिकृत सेवा राजधानीबाहिर पनि उपलब्ध हुन थालेपछि निमोनियाका कारण अकालमा ज्यान जाने क्रम घटेको छ । चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा सेवा दिँदै आएका प्राडा शीतल अधिकारी चिसो मौसममा अन्य समयमा भन्दा बढी निमोनिया हुन सक्ने बताउँछन् ।
उनले भने, ‘चिसोले निमोनिया बनाउने भन्दा पनि चिसो वातावरणमा निमोनिया हुन सक्छ । इन्फ्लुएन्जा भाइरस चिसोमा सक्रिय हुने भएकाले निमोनिया हुने सम्भावना बढी हुन्छ ।’
रूघा, खोकी, ज्वरो आउनेबित्तिकै बोलीचालीको भाषामा निमोनिया लाग्यो भनिने भए पनि त्यो निमोनिया नभएको उनको भनाइ छ । उनले भने, ‘निमोनियामा साधारणतया एक्स-रे गरेर हेर्यो भने फोक्सोमा सेतो दाग देखिन्छ, त्यो निमोनिया हो ।’
निमोनिया फोक्सोमा हुने एक प्रकारको संक्रमण भएको भन्दै उनले कोभिडको बेलामा भाइरसले निमोनिया बनाएको बताए । सामान्यतया धेरै जनालाई हुने इन्फ्लुएन्जा भाइरसले गर्दा निमोनिया हुने भन्दै अन्य ब्याक्टेरियाले गर्दा पनि निमोनिया हुने उनले बताए ।
उनले भने, ‘मधुमेह नियन्त्रणमा नभएको वा रोगसँग लड्ने क्षमता कम भएको व्यक्तिहरूलाई यो बाहेक फङ्गस (ढुसी) ले पनि निमोनिया गराउँछ ।’
फोक्सोमा संक्रमण भएपछि खोकी लाग्ने, ज्वरो आउने र छाती दुख्ने गर्दछ ।
साधारण भाषामा निमोनिया भनेको फोक्सो पाक्ने समस्या भएको भन्दै उनले भने, ‘फोक्सोको एक भाग अथवा पूरै भाग पाक्ने हो । त्यसको वरिपरि पानी जम्ने र त्यो इन्फेक्टेड भयो भने पीपजस्तो हुन्छ ।’
निमोनियाको दुई प्रकृति रहेको छ । ब्याक्टेरियल निमोनिया अर्थात् भाइरस निमोनियाको समयमै उपचार भयो भने खासै खतहरू बस्दैन । तर कुनैकुनै निमोनिया जस्तैः कोभिड निमोनिया निको भए पनि फोक्सोमा खतहरू देखिएको उनले बताए ।
समयमा उपचार भयो र अन्य जटिलताहरू जस्तो: पीप बनेन भने साधारणतया निमोनिया निको हुने रोग अन्तर्गत पर्ने उनको भनाइ छ ।
उनले भने, ‘रोगसँग लड्ने क्षमता, समयमै सही एन्टिबायोटिकको प्रयोग र बिरामीको केयर कस्तो छ भन्ने अवस्थाले निमोनिया निको हुने वा नहुने कुरा भर पर्दछ ।’
साधारणतया निमोनिया हुने कारणमा भाइरस र ब्याक्टेरिया नै मुख्य हुन् । धेरैजसो बिरामीलाई इन्फ्लुएन्जा, कोभिड र श्वासप्रश्वासमा असर गर्ने भाइरस नै हो । त्यस्तै ब्याक्टेरियाका कारणले हुने निमोनियामा सामान्तया स्ट्रेप्टोकोकस निमोनिया हो । यो धेरैजसो भीडभाडमा जाँदा हुने निमोनियामा पर्दछ ।
निमोनियाबाट बच्नका लागि भिडभाडमा जाँदा मास्कको प्रयोग गर्ने, रूघा लागिरहेको व्यक्तिको अगाडि नजान, खोक्दा, हाच्छ्युँ गर्दा सर्ने भएकाले कोभिडको बेलामा प्रयोग गरेका मापदण्डहरु प्रयोग गर्न उहाँले सुझाव दिनुभयो । अहिले निमोनियाको भ्याक्सिनसमेत पाइने उनले बताए ।
समयमै उपचार गरेमा प्रायःजसो निमोनिया निको हुन्छ । रोगसँग लड्ने क्षमता कम भएको अवस्थामा सबैजना निको हुँदैनन् । करिब १० प्रतिशतलाई निको पार्न नसकिने उनी बताउँछन् । उनले भने, ‘पानी धेरै जमेको छ, निमोनिया ठूलो छ र कहिलेकाहीँ खकारहरू ननिस्केर भएको निमोनिया छ भने त्यो जटिल नै हुन्छ ।’
FACEBOOK COMMENTS