काठमाडौं । विश्वप्रसिद्ध प्रविधि कम्पनी साओमीको स्वामित्वमा रहेको चर्चित स्मार्टफोन ब्रान्ड पोको नेपाली बजारमा औपचारिक रूपमा कमब्याक गरेको छ।
गेमिङ र मल्टिटास्किङ स्मार्टफोनको रूपमा युवामाझ लोकप्रिय रहेको पोकोको पुनरागमनले स्मार्टफोन बजारमा प्रतिस्पर्धा बढाउने अनुमान गरिएको छ।
तीन वर्षपछि टेलिटक प्राइभेट लिमिटेडसँग साझेदारी गर्दै पोकोले तीनवटा अत्याधुनिक स्मार्टफोनसमेत लन्च गरेको हो। नयाँ फिचरसहित लन्च गरिएको पोको एक्स सेभेन प्रो फाइभजी, पोको एफ सेभेन फाइभजी र पोको एफ एट प्रो फाइभजी मोडेलमा छिटो र तीव्र रूपमा काम गर्ने चिपसेटहरू, धेरै लामो समयसम्म टिक्ने ब्याट्री र आधुनिक फिचरहरू समावेश छन्। यसले ब्रान्डको ‘पर्फमेन्स फस्र्ट’ अर्थात् ‘प्रदर्शन सर्वोत्कृष्ट’ भन्ने दर्शनलाई जीवन्त बनाउने विश्वास गरिएको छ।
तीन मोडेलहरू लन्च भएपछि आफ्नो धारणा व्यक्त गर्दै टेलिटकका कार्यकारी निर्देशक प्रतिक जालानले भने– ‘‘हामी पोकोलाई फेरि नेपाली बजारमा ल्याउन पाउँदा उत्साहित भएका छौँ। यी फोनहरू बलियो र छिटो काम गर्नसक्ने चिपसेटहरू र लामोसमय टिक्ने ब्याट्रीका साथै नयाँ फिचरसहित डिजाइन गरिएका छन्। यसले बिनाकुनै सम्झौता गेम खेल्ने, एकैपटक धेरै कार्य गर्ने र निरन्तर कनेक्टेड रहने सुविधा प्रदान गर्नेछन्।’’
नेपालीको दैनिकीलाई सहज र सरल बनाउनु नै पोकोको मूल मर्म भएको बताउँदै उनले उत्कृष्ट अनुभव प्रदानका लागि सधैँ प्रतिबद्ध रहने बताए।

फ्ल्यागशिप मोडेल पोको एफ एट प्रोमा क्वालकम एसएम ८७५०–एबी स्न्यापड्रयागन ८ एलिट प्रोसेसर (थ्री एनएम) छ, जसमा अक्टा–कोर ४.३२ गिगा हर्ज कन्फिग्रेसन छ। यसमा ६.५९ इन्चको आई–केयर एमोलेड डिस्प्ले छ, जसको रिफ्रेस रेट १२० हर्ज छ। ६२१० एमएएच ब्याट्रीसँग १०० वाट फास्ट चार्जिङ सपोर्ट, १२ जीबी र्याम प्लस ५१२ जीबी रोम र एन्ड्रोइड १६ अपरेटिङ सिस्टममा आधारित हाइपर ओएस थ्री रहेकाले यो स्मार्टफोनले उत्कृष्ट प्रदर्शन गर्ने कम्पनीको दाबी छ।

साउन्ड क्वालिटीका लागि स्टेरियो स्पिकरहरूमा डल्बी एटमस, बोसद्वारा ट्युन गरिएको र हाई–रेस अडियो सपोर्ट छ। क्यामेरामा वाइड, टेलिफोटो र अल्ट्रावाइड लेन्सहरूको ट्रिपल सेटअप छ। यसमा आईपी ६८ रेटिङको सुविधा छ, जसले पानी र धुलोबाट सुरक्षा प्रदान गर्छ। यो फोन टाइटेनियम सिल्भर, निलो र कालो रङहरूमा उपलब्ध छ।

त्यस्तै अर्को मोडेल पोको एक्स सेभेन प्रो फाइभजीमा मिडियाटेक डाइमेन्सिटी ८४०० अल्ट्रा चिपसेट (फोर एनएम) छ, जसमा अक्टा–कोर ३.२५ गिगा हर्ज प्रोसेसर छ। ६.६७ इन्चको क्रिस्टलरेस एमोलेड डिस्प्ले (१२० हर्ज रिफ्रेस रेट) सँगै ६००० एमएएच ब्याट्री र ९० वाट हाइपरचार्ज फिचर छन्।

एन्ड्रोइड १५ र हाइपर ओएस टूमा आधारित यो फोन १२ जीबी र्याम प्लस ५१२ जीबी रोमसँगै आउँछ। यसमा पनि आईपी ६८ रेटिङ छ र यो कालो, हरियो तथा पहेंलो रङमा उपलब्ध छ। त्यसैगरी पोको एफ सेभेन फाइभजीमा क्वालकम एसएम ८७३५ स्न्यापड्रयागन ८ एस जेन ४ प्रोसेसर छ। ६.८३ इन्चको १.५ के एमोलेड अल्ट्रा–ब्राइट डिस्प्लेसहित ६५०० एमएएच ब्याट्री र ९० वाट वायर्ड चार्जिङ फिचर यसमा रहेका छन्।

यी तीनै मोडेलहरूमा अगाडि सिंगल सेल्फी क्यामेराहरू छन्। कम्पनीले पोको एक्स सेभेन प्रोको बजार मूल्य ५५,९९९ रुपैयाँ तोकेको छ। त्यस्तै पोको एफ सेभेनको मूल्य ६९ हजार ९९९ र पोको एफ एट प्रोको ९९ हजार ९९९ रुपैयाँ मूल्य तोकिएको छ। उपभोक्ताको हितलाई मध्यनजर गर्दै पोकोले ९ महिनासम्म ईएमआईको सुविधा पनि दिएको छ भने सबै मोडेलहरूमा १ वर्षको ब्रान्ड वारेन्टी उपलब्ध छ।
FACEBOOK COMMENTS