लक्ष्मी मातालाई भित्र्याउनु छ
सुख, शान्ति, ऐश्वर्य ल्याउनु छ
तर के गर्नु खै !
दीपावलीको दियो यसपालि मधुरो छ !
पराई मुलुकमा यो देशको छोरो लड्दै गर्दा
थाम्नलाई बलिया हात रहेनछन् थाहा भो
भैगो, समाज गुहारौं भनेथेँ
आफ्नै स्वर भासिइसकेछ थाहा भो ।
व्याधा कस्तो !
बालखाका रगत बग्दै गर्दा
चित्त उसको दुख्दो रहेनछ थाहा भो
समाज खै ! हुँडार प्रवृत्ति हाबी भएछ
प्राण नउड्दै शिकार लुछ्न चुक्दो रहेनछ थाहा भो ।
बुद्धको सन्देश, भृकुटीको त्याग, शहीदको बलिदान भुल्दा
निश्चलता दुर्लभ भो, धमिलो पानी आज बढी रुच्दो रहेछ थाहा भो
सत्य–निष्ठा, न्यायप्रेमी गोर्खालीको वीर गाथा खोइ ?
निर्भय खुकुरी बरु कोमल थियो
कुटिलताको बधशालामा कलमले बढी रेट्दो रहेछ थाहा भो ।
आत्मानुभूति माथि सहानुभूति हाबी छ
भावना बजारमा बिक्री हुँदै गर्दा
किन्नेको होड यहाँ चल्दो रहेछ थाहा भो
कालो–सेतो, सेतो–कालो फरक छुट्याउनै गाह्रो
धुर्तले अनेक रङ आफ्नै भर्दो रहेछ थाहा भो ।
आमालाई हँसाउनु छ, तर खै !
रित्तिएका काख छन्, कुल्चिएका भाव छन्
मलमभन्दा गहिरो घाउ, इँटाभन्दा जीवनको भाउ यहाँ सस्तो छ
छिपेका स्यालका हुई–हुई पनि फेरि उही
पोखिएका रगतमाथि हानथाप, जुवाको खाल छ
खै कसरी मनाउने तिहार ?
दीपावलीको दियो यसपालि साह्रै मधुरो छ !
FACEBOOK COMMENTS