गण्डकी । पोखरा पर्यटन परिषद्ले पर्यटकीय नगरी पोखरामा पटकपटक विद्युत् अवरुद्ध हुँदा समस्या परेकाले नियमित विद्युत् आपूर्तिको मागसहित विद्युत् प्राधिकरण मालेपाटनमा ध्यानाकर्षण गराएको छ ।
परिषद्का अध्यक्ष तारानाथ पहारी नेतृत्वको टोलीले आज विद्युत् प्राधिकरण मालेपाटन शाखाका प्रमुख जितेन्द्र यादवलाई भेटी ध्यानाकर्षणपत्र बुझाएको हो ।
पोखरालाई स्वच्छ, सफा, उज्यालो बनाई गुणस्तरीय सेवामा विश्वसामु छुट्टै चिनारी दिनु साझा दायित्व भएको ध्यानाकर्षणपत्रमा उल्लेख छ । पोखराको लेकसाइड, ड्यामसाइडलगायत पर्यटकीय क्षेत्रमा विद्युत् जाने र आउने गर्दा प्रायः होटल, रेष्टुरेन्ट तथा रिसोर्टहरूमा विद्युुुतीय उपकरणहरूलाई प्रत्यक्ष असर परेको र नियमित विद्युत् आपूर्ति नहँुदा पर्यटकलाई दिने सेवामा समेत थप असर परिरहेको ध्यानाकर्षणपत्रमा उल्लेख छ ।
अन्तरराष्ट्रिय पर्यटकीय गन्तव्य पोखरा क्षेत्रमा विद्युत् भूमिगत गर्न खनिएका खाडल लामो समयसम्म राम्रोसँग नपुरिँदा वर्षाको पानीले खाडल पुरिएर नदेखिने अवस्थासँगै केही पुरिएका खाडलमा गुणस्तरीय कार्य हुन नसक्दा दबिने तथा भासिने क्रमले थप दुर्घटना बढेको परिषद्ले जनाएको छ ।
“बिजुलीका पोलमा अनावश्यक केवल, इन्टरनेटका तारहरूले ‘ब्ल्याक ट्री’को सङ्ज्ञा दिइरहेको छभने कतिपय ठाउँमा काटिएर झुन्डिएका तारले यात्रीहरूलाई त्रासको वातावरण पनि सृजना गरेको छ”, ध्यानकर्षणपत्रमा भनिएको छ ।
पोखरा सफाइ अभियानअन्तर्गत लेकसाइड र ड्यामसाइड क्षेत्रभित्रका अनावश्यक खाडल तथा बाटोमा छरिएका तार हटाउने व्यवस्था मिलाइ नियमित विद्युत् आपूर्तिका लागि पहल गरिदिन परिषद्ले माग गरेको छ ।
FACEBOOK COMMENTS