काठमाडौँ । पोखरा महानगरपालिका र लक्ष्मी ग्रुप फाउन्डेसन (लक्ष्मी ग्रुप) बिच वातावरण तथा पर्यावरण संरक्षणसँगै महानगर क्षेत्रमा रहेका तालहरूको सरसफाइ एवं रोजगारी सिर्जना सम्बन्धी समझदारी भएको छ ।
बिहीबार भएको समझदारीमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर क्षेष्ठले हस्ताक्षर गरेका हुन् ।
तालहरूको दिगो संरक्षण, पर्यावरणीय सन्तुलन, पर्यटन उद्योग र स्थानीय समुदायहरूको आर्थिक सशक्तीकरणका लागि सिपमूलक तालिम र रोजगारीका अवसर सिर्जनामा योगदान गर्ने गरी परियोजना सञ्चालन गर्न लागिएको नगर प्रमुख आचार्यले बताए ।
नेपालको अग्रणी व्यापारिक समूहको रूपमा स्थापित लक्ष्मी ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत पोखराको पर्यावरण संरक्षण र सामुदायिक सशक्तीकरणमा सहयोग एवं सहकार्य गर्ने प्रतिबद्धता जनाए अनुसार वातावरण तथा पर्यावरण संरक्षणसँगै महानगर क्षेत्रमा रहेका तालहरूको सरसफाइ तथा रोजगारी सिर्जना सम्बन्धी परियोजना सञ्चालनका लागि समझदारी गरिएको उनले बताए ।
पोखराका तालहरूमा लेउ र जलकुम्भी झार नियन्त्रण गरी पर्यावरणीय सन्तुलन र पर्यटकीय आकर्षण कायम राख्ने, निकालिएको जलकुम्भी झारबाट हस्तकलाका सामग्रीहरू उत्पादन तथा प्रशोधनका लागि स्थानीय समुदायमा सीप विकास मार्फत रोजगारी सिर्जना गर्ने, गण्डकी बहु प्राविधिक शिक्षालयका विद्यार्थीहरूलाई इन्टर्नसिप र व्यावसायिक प्रशिक्षण प्रदान गरी रोजगार र उद्यमशीलता तर्फ आकर्षित गर्ने, पोखरा महानगरपालिकामा गरिबिको रेखा मुनी रहेका विपन्न घरपरिवारलाई इन्डक्सन चुलो वितरण र विद्युतीय पूर्वाधार सुधारमा सहयोग गरी महानगरपालिकाको प्रथम पञ्चवर्षीय नगर ऊर्जा योजनाले निर्दिष्ट गरेका उद्देश्यहरू प्राप्तिको दिशामा योगदान गर्ने, संयुक्त रूपमा जलवायु वित्त र जलवायु न्याय कोषको खोजी गरी विपन्न समुदायलाई सहयोग गर्ने लगायत उद्देश्यले समझदारी गरिएको नगर प्रमुख आचार्यले बताए ।
महानगर क्षेत्रमा रहेका तालहरूको सरसफाइ र जलकुम्भी लगायत झारहरूको व्यवस्थापन, जलकुम्भीबाट हस्तकला उत्पादन र सिप विकास, गण्डकी बहु प्राविधिक शिक्षालयका विद्यार्थीका लागि इन्टर्नसिप र प्रशिक्षण, विपन्न घरपरिवारलाई इन्डक्सन चुलो वितरण र नेपाल विद्युत् प्राधिकरणसँगको समन्वयमा विद्युतीय पूर्वाधार सुधारको क्षेत्रमा समन्वयात्मक ढङ्गले परियोजना सञ्चालन हुने लक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठले बताए ।
यसका लागि लक्ष्मी ग्रुपले देश तथा विदेशबाट अत्याधुनिक प्रविधि भित्र्याउने, ताल सरसफाइ र जलकुम्भी प्रशोधनका लागि आवश्यक वित्तीय स्रोत, उपकरण, प्राविधिक, विज्ञ परामर्शदाता, जनशक्ति लगायतको व्यवस्थापन, हस्तकलाका सामाग्रीहरू उत्पादन तथा प्रशोधनका लागि आवश्यक तालिम तथा प्रशिक्षण र विपन्न परिवारहरूलाई विद्युतीय चुल्हो वितरण गर्नेछ ।
परियोजना परीक्षण काल ६ महिना सहित ५ पाँच वर्षसम्म सञ्चालन हुनेछ । परियोजनाको प्राविधिक गुणस्तर तोकिएको मापदण्ड अनुसार नियमित अनुगमन र मूल्याङ्कन गरिनेछ ।
पहिलो चरणमा पाइलट परियोजना ६ महिनाभित्र मूल्याङ्कन गरी त्यसको प्रभावकारीताका आधारमा पोखराको फेवाताल लगायत अन्य तालहरूमा परियोजना क्रमश: विस्तार गर्दै लगिने आचार्यले बताए ।परियोजना मार्फत पोखरामा रहेका तालहरूको दिगो संरक्षण र विकासमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ भने, तालहरूमा देखिने फोहोर र प्रदूषणको समस्या समाधान हुनेछ ।
स्थानीय समुदायको आर्थिक सशक्तीकरण, आयआर्जन र जीविकोपार्जनमा उल्लेखनीय सुधार गर्दै विपन्न परिवारलाई विद्युतीय चुल्हो वितरण गरी वातावरण तथा पर्यावरणीय सन्तुलन मार्फत पोखरा महानगरपालिकाको प्रथम पञ्चवर्षीय नगर ऊर्जा योजना कार्यान्वयनमा सहयोग पुग्नेछ ।
FACEBOOK COMMENTS