पोखरा । पोखरामा फोहोर व्यवस्थापनका लागि प्रस्ताव गरिएको ल्याण्डफिल साइटको विषयमा विवाद बढेपछि फोहोर व्यवस्थापन अवरुद्ध भएको छ ।
पोखरा महानगरपालिका–३३ मा फोहोर व्यबस्थापनका लागि प्रस्ताव गरिएको ल्याण्डफिल साइटको विषयमा भएको विवाद बढ्दै गएपछि स्थानीयले वडा कार्यालयमा तालावन्दी गरेका छन् । सो अवसरमा वडाध्यक्षले रामचन्द्र अधिकारीले खुकुरी देखाउँदै स्थानीयलाई तर्साउन खोजेपछि उनलाई प्रहरीले पक्राउ गरेको छ ।
पोखरा महानगरपालिकाले पोखरा–३३ पुँडिटारमा ल्याण्डफिल साइट बनाउने उद्देश्यले मंसिर २ गते टेरासोल्भ रिन्युवल नेपाल प्रालिसँग सार्वजनिक–निजी साझेदारी ९पीपीपी० मोडेलमा सम्झौता गरेको थियो । सम्झौताअनुसार कम्पनीले ८० करोड लगानी गरी २१ वर्षसम्म ल्याण्डफिल साइट व्यवस्थापन तथा प्रशोधन केन्द्र निर्माण गर्ने बताइएको छ ।
२६ महिनाभित्र प्रशोधन केन्द्र निर्माण गरिसक्ने र महानगरले ३० दिनभित्र जग्गा उपलब्ध गराउने सम्झौतामा उल्लेख गरिएको छ । परियोजनाअन्तर्गत स्थानीय १७ परिवारको नाममा लालपूर्जा भएको करिब ९६ रोपनी जग्गा महानगरले रोक्का गरेको छ । तर स्थानीयबासीले आफूहरूसँग कुनै सरसल्लाह नगरी परियोजना अघि बढाइएको भन्दै विरोध गरिरहेका छन् ।

यसैबीच विवाद बढेपछि पोखरा महानगरपालिका भित्र उत्सर्जन हुने फोहोर मैला व्यवस्थापन रोकिएको छ । महानगरले पछिल्लो विकसित समस्याको निराकरणका लागि प्रयत्न गरिरहेको भन्दै समस्याको समाधान नभएसम्म आफ्नो घर, व्यावसायिक स्थल तथा अन्य क्षेत्रमा उत्पन्न हुने फोहोर सार्वजनिक स्थल, सडक, चोक, बसपार्क, ताल पोखरी तथा नदी किनारमा जथाभाबी नफ्याँक्नुहुन आग्रह गरेको छ । साथै सम्भव भएसम्म कुहिने र नकुहिने फोहोर घरमै छुट्टाएर नकुहिने फोहोरलाई जम्मा गर्ने एवं कुहिने फोहोरलाई अन्य वैकल्पिक प्रयोगको उपाय अवलम्बन गर्न अनुरोध गरेको छ ।

पछिल्लो केहि दिनपछि सडकको फोहोर समेत व्यवस्थापन हुन नसक्दा पोखराका सडकमा फोहोर थुप्रिन थालेको छ ।

FACEBOOK COMMENTS