पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको डेढमहिना बितिसक्दा पनि अन्तर्राष्ट्रिय उडानको अझै सुरसार छैन ।
पोखरेलीले अन्तर्राष्ट्रिय विमानस्थल नामको मात्र अन्तर्राष्ट्रिय भएको तर त्यो अनुसार पोखरालाई बाह्य गन्तव्यमा जोड्नेगरी उडान सुरु हुन नसकेको भन्दै गुनासो गरिरहेका छन्। जतिसक्दो छिटो अन्तर्राष्ट्रिय सहरसम्म हवाई उडानमार्फत पोखरालाई जोडनुपर्ने माग पोखरेली पर्यटन व्यवसायीले गरिरहेका छन् ।
कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रमा अन्तर्राष्ट्रिय हवाई उडानमार्फत सिधै बाह्य सहरसम्म जोड्न सके पर्याप्त पाहुना पोखरा आउने र त्यसले व्यवसायीलाई राहत दिने अपेक्षा व्यवसायीको थियो। उद्घाटन भएको डेढमहिना बितिसक्दा पनि अन्तर्राष्ट्रिय उडान भने सुरु नहुँदा पर्यटन क्षेत्र खुसी नभएको व्यवसायीले बताउने गरेका छन्।
आन्तरिक उडानमा मात्र सीमित रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट कहिले र कुन हवाई कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्छन् भन्ने पनि अहिलेसम्म यकिन छैन। पोखरालाई अन्तर्राष्ट्रिय उडानमार्फत बाह्य गन्तव्यमा जोड्नका लागि हवाई रुटदेखि गन्तव्य पहिचानसम्मका समस्या रहेको सरकारी पदाधिकारीले बताउँदै आएका छन्। भारतसँग हवाइ रुट माग्नका लागि कूटनीतिक रूपमा पहल गरिरहेको सरकारले बताउँदै आएको छ ।
पोखरालाई अन्तर्राष्ट्रिय उडानमार्फत बाह्य मुलुकसम्म जोड्न सरकारले कूटनीतिक रूपमा पहल गरिरहेको अवस्थामा नेपालको हवाई सेवाको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) सँग कार्ययोजना मागेको पर्यटनमन्त्री सुदन किराँती बताउँछन्। किराँतीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कुनै पनि हालतमा पूर्ण आकारमा सञ्चालन गर्नुपर्ने बताउँछन्। ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई कुनै पनि हालतमा पूर्ण आकारमा सञ्चालन गर्नुपर्छ ।
पूर्ण आकारमा कसरी चलाउने भनेर मैले प्राधिकरणसँग कार्ययोजना मागेको छु’ किराँतीले भने, ‘विमानस्थललाई घाम तपाएर राख्ने होइन।घाम तापेर जनताको पैसा सुकाउन पाँइदैन ।’ मन्त्री किराँतीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चल्दैन भने किन बनाएको भनेर प्राधिकरणप्रति प्रश्न पनि तेर्साएका छन्।‘विमानस्थल चल्दैन भनेर सुख पाइन्छ ? चल्दैन भने किन बनाएको ?’ किराँतीको प्रश्न थियो।
त्यसअघि गत बिहीबार बिहान पोखरा आउने क्रममा विमानस्थलमा सञ्चारकर्मीसँग मन्त्री किराँतीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट कहिले अन्तर्राष्ट्रिय उडान हुन्छ भनेर किटान गर्न नसक्ने बताएको आजको नागरिक दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS