कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न भएको छ ।
नेपाल आयल निगमले पहिलो पटक आफ्नै लगानीमा विमानस्थलमा ३६ लाख लिटर क्षमताको हवाई इन्धन डिपो निर्माण गरेको हो । निगमले स्वदेशी सीप र पुँजीमा पहिलोपटक इन्धन डिपो निर्माण गरिएको जनाएको छ ।
हवाई इन्धन डिपो निर्माण परियोजनाका प्रमुख इञ्जिनियर प्रदीप यादवले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा उडान र अवतरण गर्ने राष्ट्रिय र अन्तरराष्ट्रिय विमानलाई आवश्यकपर्ने इन्धन उपलब्ध गराउन विमानस्थल परिसरमा अत्याधुनिक प्रविधि जडित हवाई इन्धन डिपो निर्माण गरिएको बताए ।
उनका अनुसार यसअघि भारतीय आयल निगमको सहयोगमा हवाई इन्धन डिपो निर्माण हुँदै आएकामा पहिलोपटक यस डिपो निर्माणमा निगमको आफ्नै लगानी रहेको छ ।
पोखरामा आन्तरिक र अन्तरराष्ट्रिय उडानको चापलाई मध्यनजर गर्दै एक हजार २०० किलोलिटर क्षमताको तीन वटा ठूला भण्डारण गृह ९कूल तीन हजार छ सय किलोलिटर इन्धन भण्डारण गर्न मिल्ने स्टोरेज ट्याङ्क० निर्माण गरिएको हो । भर्टिकल स्टोरेज ट्याङ्कको उचाइ १२ मिटर र व्यास पनि १२ मिटर रहेको निगमले जनाएको छ ।
“स्वदेशी प्राविधिक र स्वदेशी निर्माण कम्पनीले निर्माण गरेकाले पनि निगमको ५५ वर्षे इतिहासमा यो डिपो ऐतिहासिक भएको छ । यसअघि लगानी मात्र विदेशीको र्होन, प्राविधिक र निर्माण कम्पनी पनि विदेशी नै हुन्थे । त्यसलाई तोड्दै शतप्रतिशत स्वदेशी परामर्शदाता, स्वदेशी निर्माण व्यवसायी र आन्तरिक स्रोतबाट बनाउन सक्षम भएका छौँ”, आयोजना प्रमुख यादवले भने ।
आयोजना प्रमुख यादवले तोकिएको समयभित्रमा नै डिपो निर्माण सम्पन्न भएको जानकारी दिनुभयो । सो डिपो निर्माणका लागि मूल्य अभिवृद्धि कर ९भ्याट० बाहेक रु ७५ करोड खर्च भएको छ । विसं २०८० साउन १ गते निर्माण कार्यको शिलान्यास गरिएको थियो । सो डिपोेबाट आगामी साउन दोस्रो साताबाट इन्धन भर्न सुरु हुन्छ ।
डिपो सुरक्षामा उच्च सतर्कता अपनाउनका लागि एक हजार २०० किलोलिटर क्षमताको अलग्गै पानी ट्याङ्की निर्माण सम्पन्न भएको छ । उक्त पानी ट्याङ्कीसँग डिपोको वरिपरि जडान गरिएको ‘फायर फाइटिङ’ संरचनालाई आबद्ध गरिएकाले उच्च सुरक्षा प्रदान गर्ने निगमका सहायक प्रबन्धक अनुपम पराजुलीले बताए ।
“हवाई इन्धन जस्तो प्रज्ज्वलनशील पदार्थको नियमित रुपमा कारोबार हुँदा आगलागीको जोखिम हुनसक्ने विषयलाई मध्यनजर गर्दै चार हजार लिटर क्षमताको ‘फोम स्टोरेज’ ट्याङ्कसमेत निर्माण गरिएको छ । यसलाई फायर फाइटिङको संरचनासँग आबद्ध गरिएकाले पानीको फोहोरासँगै फोम पनि मिसिएर प्रवाह हुने र तत्कालै आगलागीजन्य घटनालाई निस्तेज पार्न सहयोग मिल्ने गरेको विश्वव्यापी अभ्यास छ”, पराजुलीले भने ।
पोखरा अन्तरराष्ट्रिय विमानस्थलका लागि आवश्यक इन्धनका लागि आयल निगमले विमानस्थल परिसरमा नौ हजार २१५ वर्गमिटर क्षेत्रफल जग्गा नागरिक उड्डयन प्राधिकरणसँग ‘लिज’ सम्झौता गरी निगमले उपयोग गर्दै आएको जनाएको छ ।
FACEBOOK COMMENTS