कास्कीको पोखरा मानगरपालिका–१८ चिसाखोलामा अवस्थित वेद विद्याश्रम पोखराकै पुरानो संस्कृत विद्यालय हो । २०५५ सालदेखि विधिवत सुरूवात भई २०५८ सालदेखि पठनपाठनको सुरूवात भएको थियो । पठनपाठन सुरू भएदेखि नै पढ्न सुरू गरेका श्रीराम तिमल्सिना अहिले यस विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारीमा छन् । पोखरा चिसाखोला वेद विद्याश्रमको स्थापनादेखि विभिन्न आरोहअवरोह र अहिलेको अवस्थालगायत विषयमा कर्पोरेट खबरले पोखरामै पुगेर विद्याश्रमका प्रधानाध्यापक तिमल्सिनासँग कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग कर्पोरेट खबरका साइराम उपरकोटीले गरेको कुराकानीको सम्पादित अंश–
पोखरा चिसाखोला वेद विद्याश्रम कस्तो विद्यालय हो ?
म यस विद्यालयमा २०६७ सालदेखि प्रधानाध्यापकको रूपमा छु । यहाँको पाठयक्रम अनुसार हामीले ६ देखि १२ कक्षासम्म पठनपाठन गरिरहेका छौँ । यहाँ मेचीदेखि महाकालीसम्मका विद्यार्थीहरू वैदिक शिक्षा पढ्न आउनुहुन्छ । हामीले हरेक वर्ष लिखित परीक्षा र अन्तर्वार्तामार्फत भर्ना गर्ने गर्छौँ । १० देखि ४ बजेसम्म औपचारिक रूपमा पठनपाठन हुन्छ । यहाँ आवासीय रूपमा रहने विद्यार्थीहरूले बिहान ब्रह्म मुहुर्तमा शैया त्याग गर्छन्, सन्ध्या बन्धन, रुद्राभिषेक, आरती गर्छन्, दैनिक जीवन र कर्मकाण्डमा आधारित थप ज्ञान यहाँ बस्ने विद्यार्थीले आर्जन गर्छन । यहाँ सबै गरेर १४७ जना विद्यार्थी छन् भने १० जना शिक्षक छौँ ।
तपाईँहरूले ६ कक्षादेखि मात्रै भर्ना लिनुहुन्छ । त्यसअघिको शिक्षा कहाँ लिने हो ?
वैदिक संस्कृत शिक्षाका लागि अर्थाथ् वेद पढ्नका लागि उपन्यन संस्कार अर्थात् व्रतबन्ध गरेको हुनुपर्छ । शाास्त्रका अनुसार व्रतबन्ध गर्नका लागि ८ वर्ष पुगेको हुनुपर्छ । त्यसैले हामीले ९ देखि १२ वर्षका कक्षा ५ सम्म पढेका विद्यार्थीलाई भर्ना लिने गरेका हौँ । त्यसैले हामीले ६ कक्षादेखि पठनपाठन गरेका हौँ ।
तपाईं आफूलेचाहिँ यो वैदिक शिक्षा कहाँबाट आर्जन गर्नुभयो ?
यस विद्यालयमा २०५८ सालदेखि पठनपाठन सुरूवात भएको थियो । म यहाँको पहिलो ब्याचको विद्यार्थी हु । मसँग पढ्ने अन्य चार जना साथीहरूमध्ये एक जना साथी र म यहाँ पढाउँछौँ भने दुई जना नेपाल आर्मीमा पुजारीका रूपमा कार्यरत हुनुहुन्छ ।
कस्ता–कस्ता विद्यार्थीले वैदिक शिक्षा लिन पाउँछन् ?
संस्कृत पढ्नका लागि वैदिक नियम आचरण पालना गर्छु भन्ने प्रतिज्ञा गरेको हुनुपर्दछ । त्यो प्रतिज्ञा गर्नुहुने जोकोहीले यो शिक्षा हासिल गर्न सक्नुहुनेछ । हामीले पठनपाठन गर्न राज्यको सेवासुविधा लिएर सञ्चालन गरेका छौँ । यहाँ कुनै अमुक जात र धर्मका मानिसले पढ्न पाउने वा नपाउने भन्ने कुरा हुँदैन । यहाँको आचरण अवलम्बन गर्ने जोकोहीले पढ्न पाउनुहुन्छ । सबै भन्दा ठूलो कुरा मानिसमा हुने अभिरुची हो, रुची राख्नुपर्छ जात र धर्मले फरक पर्दैन ।
हाम्रो समाजमा खासगरी वैदिक शिक्षा लिनेमा बाहुन–क्षेत्री जातका मानिसहरू अगाडि देखिन्छन् । यो विद्याश्रमबाट अन्य जातका मानिसहरूले पनि शिक्षा लिएका छन् ?
हाम्रो विद्यालयमा धेरै अघि अमात्य थरका विद्यार्थी पढ्न आउनुभएको थियो । उहाँले यस विद्यालयबाट ६९ सालमा एसएलसी उत्तीर्ण गर्नुभयो । अहिले उहाँले रामनदी धाम स्याङ्जा र पाल्पाको बीचमा राधाकृष्ण गुरुकुल चलाइरहनुभएको छ । उहाँबाहेक पढ्न आउने त अहिले छैन्न । तर, अनौपचारिक रूपमा कर्मकाण्ड सिक्न चाहिँ अरु थुप्रै जात र थरका मानिसहरू आइरहनुहुन्छ ।
टाढा–टाढाबाट आउने विद्यार्थीहरूका लागि यहाँ होस्टेलको सुविधा छ कि छैन ?
हामीकहाँ दुईथरी विद्यार्थी आउनुभएको छ । दुर्गम र टाढाबाट आउनुभएका तथा लिखित अन्तर्वार्ताबाट छनोट हुनुभएका विद्यार्थीहरू यहीँ बसेर पढ्नुहुन्छ भने अन्य विद्यार्थी आफ्नो घरबाटै १० देखि ४ बजेसम्मको कक्षामा पढ्न हाउनुहुन्छ ।
यहाँ वेदका विषयमा मात्र पढाइ हुने हो कि अन्य विषयमा पनि हुन्छ ?
यो वेद विद्याश्रम भएकाले यहाँ मुख्य भनेको वेदका विषय नै हुन्, यो नाम बाटै छर्लङ्ग छ । नेपाल सरकारको पाठ्यक्रम अनुसार नै हामीले पढाइरहेका छौँ । जसमा नेपाली, अंग्रेजी र गणित छ भने हामीले कम्पयुटर शिक्षा पनि दिइरहेका छौँ । वेद, कर्मकाण्ड, संस्कृत भाषा, संस्कृत व्याकरणमा पढाइ हुन्छ । चारवटा आधुनिक, चारवटा संस्कृत विषयमा पढाइ हुन्छ ।
कर्मकाण्ड गर्न मात्रै पनि विद्यार्थीहरू यहाँ पढ्न आउँछन् ?
अहिलेको २१औँ शताब्दीमा संस्कृत पढ्ने भन्नेवित्तकै ‘आतेपाते’ कर्मकाण्ड गर्ने शिक्षा हो भन्ने आम जनमानसमा परेको छ । त्यसलाई चिर्दै हामीले कर्मकाण्ड गर्न मात्रै विद्यार्थीले शिक्षा लिँदैनन् भन्ने शिक्षा आम जनमानसमा दिन सकेका छौँ । यहाँ पढेका विद्यार्थीले त्यो भान दिन सकेका छन् । हाम्रो विद्यालयमा अभिभावहरूले बोर्डिङको पढाइ छुटाएर पनि यहाँ पढ्न पठाउने गर्नुभएको छ ।
शिक्षक कर्मचारी कति छन् ?
हाम्रो वेद विद्याश्रममा नेपाल सरकारको दरबन्दी १० वटा छ । जसमा आधारभूत तह र माध्यमिक तहको प्राप्त गरेका छौँ । यहाँ कर्मचारी दुई जना हुनुहुन्छ । ११ र १२ कक्षाको दरबन्दी प्राप्त गरेका छैनौँ । त्यसका लागि फलिस ज्योतिष पढाउने गुरु हुनुहुन्छ । उहाँले नेपाल संस्कृत विद्यालय अन्तर्गतको आङ्गिक क्याम्पस विन्ध्यवासिनी सांस्कृतिक विद्यापीठमा पढाउनुहुन्छ । अहिले यहाँ पनि ११ र १२ कक्षामा पठनपाठन गाउँदै आउनुभएको छ । उहाँलाई हामीले केही पैसा दिएका छौँ । अहिले राज्यसँग थप शिक्षक मागिरहेका छौँ ।
यहाँ विद्यार्थीलाई वैदिक शिक्षाबाहेक अरु के–के ज्ञान दिनुहुन्छ ?
हामीकहाँ पढ्ने विद्यार्थीले बिहान उठेदेखि राति नसुतेसम्म वेदले के बताएको छ, के गर्नुपर्ने हो त्यहीअनुसार बिहान उठेपछि शैया त्याग, दन्तदावन, सौचाचार, नृत्य कर्म, सन्ध्या बन्दन, रुद्री, आरती जस्ता कार्य गर्नुहुन्छ । अन्य काम भनेको विद्यार्थीहरूले रोटेसन अनुसार गर्छन् । दैनिक खाना बनाउने, भाँडा माझ्ने, फूलबारीमा पानी राख्ने, पूजा गर्ने, घाँस काट्ने जस्तो काम गर्छन् । यो रोटेसन अनुसार हुन्छ । सबैलाई एउटा न एउटा काम दैनिकरूपमा परेकै हुन्छ ।
यहाँ पढ्न चाहने विद्यार्थीलाई के भन्न चाहनु हुन्छ ?
संस्कृत रहे संस्कार रहन्छ । आफ्नो बालबच्चालाई संस्कारयुक्त बनाउन चाहानुहन्छ भने संस्कृत नै पढाउनुपर्छ । हामीले ३२ देखि ३४ जिल्लाका विद्यार्थीलाई शिक्षा दिइरहेका छौँ । यहाँ पढ्न आउने विद्यार्थीलाई गाँस, वास, कपासको पनि व्यवस्था गर्छौँ । यो नि:शुल्क हो । कुनै शुल्क लाग्दैन । त्यसैले पढ्न पठाउनुहोस् । आफ्नो साथमा राख्ने र स्वदेशमा नै केही गर्ने हो भने भान दिने हो भने संस्कृत पढाउनुपर्छ । हामीले संस्कृत पढाउन भनेर नै कम्मर कसेका छौँ । त्यसैले आफ्नो बच्चालाई पनि पठनपाठन गर्न पठाउनु होला ।
FACEBOOK COMMENTS