गण्डकी । पोखरा पर्यटन परिषद्ले फेवातालको सीमाङ्कनका नाममा दीर्घकालीन योजनाबिना नै पोल गाड्न थालिएको भन्दै ध्यानाकर्षण गराएको छ । परिषद्ले आज पत्रकार सम्मेलन गर्दै फेवातालको सीमाङ्कन भन्दै बिनायोजना पोल गाड्न थालेकामा विरोध गरेको हो ।
परिषद्ले बिनायोजना ६५ मिटर मापदण्ड लगाउँदा पर्यटन केन्द्र लेकसाइड मासिने खतरा रहेको भन्दै लेकसाइड मासेर पोखरा पर्यटनको राजधानी नबन्ने जनाएको छ ।
सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न बनेको सहजीकरण समितिले शनिबारदेखि फेवातालको साँधमा भौतिक पोल गाड्न सुरु गरेपछि स्थानीयवासीले त्यसको विरोध गरेका परिषद् अध्यक्ष तारानाथ पहारीले बताए ।
राज्यले जग्गाको सीमाङ्कन गर्दा जग्गाधनीसँग सहमति लिनुपर्ने बताउँदै उनले सहमति तथा उचित मुआब्जाबिना कसैलाई विस्थापित गर्न नमिल्ने बताए । मुआब्जा दिन नसकिए ६५ मिटरको साटो ३० मिटर मापदण्ड लगाउनु उचित हुने पहारीको भनाइ छ ।
परिषद्का पूर्वअध्यक्ष सूर्य भुजेलले छ महिनाभित्रमा फेवाताल संरक्षणको काम सक्न भनेर सर्वोच्च अदालतको आदेश आएको दुई वर्षपछि मानहानीको गालबाट बच्न पोल गाडिएको बताउनुुभयो । वरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले स्थानीयसँग छलफल नै नगरी सीमाङ्कन गर्न खोज्न गलत हुने धारणा राखे ।
परिषद्का प्रथम उपाध्यक्ष हरि भुजेलले पर्यटनको जग लेकसाइड मासेर पर्यटकीय राजधानी बनाउने सपना नदेख्न आग्रह गर्नुभयो । पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले स्थानीयको सहमतिमा फेवातालको सीमाङ्कन हुनपर्नेमा जोड दिए ।
चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष उमराज बास्तोला, परिषद्का महासचिव जीवनराज सापकोटा लगायतले स्थानीयवासीको सहमतिमा सीमाङ्कनको विषय टुङ्ग्याउनुपर्ने आवश्यकता औँल्याए ।
FACEBOOK COMMENTS