काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँचजना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन मन्त्रीहरू स्व. पोष्टबहदुर बोगटी, रामकुमार श्रेष्ठ, भीम प्रसाद आचार्य, दीपक चन्द्र अमात्य, तत्कालीन अर्थमन्त्री डा. रामशरण महतविरुद्ध आज अख्तियारले मुद्दा दायर गरेको हो ।
यस्तै, तत्कालीन सचिवहरू तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकहरू त्रिरत्न महर्जन, रतीशचन्द्र लाल सुमन, प्रदीप अधिकारीलगायत ५५ जना र चिनियाँ कम्पनी ‘सीएएमसी इन्जिनीयरिङ कम्पनी लिमिटेड’विरुद्ध पनि मुद्दा दायर गरिएको छ ।
साथै, विमानस्थल निर्माणसम्बन्धी अध्ययन कार्यदलका तत्कालिन संयोजक एवं सर्वोच्च अदालतका पूर्वरजिष्ट्रार रामकृष्ण तिमल्सेनालाई पनि भ्रष्टाचार प्रकरणमा प्रतिवादी बनाइएको छ । साथै अख्तियारले चाइना सिएएमसी इन्जिनियरिङका अध्यक्ष वांग बो र क्षेत्रीय महाप्रबन्धक लिउ शेंगचेंगविरुद्ध समेत मुद्धा दायर गरेको छ ।
चीनको ऋण सहयोगमा २०६५ सालदेखि अध्ययन सुरु भई २०७९ मा निर्माण सम्पन्न भएको यो विमानस्थल सुरुदेखि नै अनियमितताका कारण विवादित बनेको थियो ।

यसअघि प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले विमानस्थल निर्माणमा करिब १० अर्ब भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै थप अनुसन्धानका लागि अख्तियारलाई निर्देशन समेत दिएको थियो ।

मुद्दा दायर गरिएकाहरूबाट आठ अर्ब रुपैयाँ बिगो दाबी गरिएको छ ।

हेर्नुहोस् को–को विरुद्ध पर्यो विशेष अदालतमा मुद्दा ? सूची–


FACEBOOK COMMENTS