मंसिर २२,नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवन परियारले पार्टीको १४औं महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरी नेता परियारले दलिततर्फको सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
कांग्रेसले यस पटकदेखि समावेशी समूह अन्तर्गत खस आर्य, महिला, थारु, आदिवासी जनजाति, दलित, मधेशी, मुस्लिम र पिछडिएको क्षेत्रबाट १–१ जना सहमहामन्त्री चुन्ने व्यवस्था गरेको छ । केन्द्रीय सदस्य परियारले संस्थापन इतर समूहबाट सहमहामन्त्रीबाट उम्मेदवार बन्न लागेका हुन् । कास्कीको रुपा गाउँपालिका थुम्कीका जीवन संविधान सभा सदस्य हुन् । ‘म दुई कार्यकाल (१२ र १३औं महाधिवेशनबाट) निर्वाचित भएर ११ वर्षसम्म केन्द्रीय समितिमा रहेँ । यही अनुभवले मैले सहमहामन्त्रीको जिम्मेवारी निभाउन सक्छु । त्यसैले उम्मेदवारी दिएको हुँ,’ परियारले भनेका छन्, ‘पार्टीको पदाधिकारी भइसकेपछि पार्टीलाई अझ सशक्त बनाउने, अन्य पार्टीभन्दा पृथक् बनाउने, देश र जनताको निमित्त काम गर्ने हो ।’ २००९ सालमा नेपाली कांग्रेसको पाँचौं राष्ट्रिय महाधिवेशन जनकपुरमा सम्पन्न हुँदा त्यतिबेला बिपी कोइराला सभापतिमा निर्वाचित भएको र दोस्रो ठूलो पद महामन्त्रीको जिम्मेवारी कोइरालाले धनमानसिंह परियारलाई दिएको जीवनले स्मरण गरेका छन् ।
पर्वतका कांग्रेस नेता नवराज गुरुङले आसन्न १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर नेता गुरुङले कांग्रेसको १४औँ महाधिवेशनमा (आदिवासी/जनजाति) तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । नेता गुरुङले आदिवासी जनजातिहरू तथा अन्य समावेशीका जातिहरू सन्तुष्ट नभएको भन्दै पिछडिएका जातिहरूलाई नेपाली कांग्रेसको मूलधारमा ल्याई उनीहरूको बृहत्तर हितमा काम गर्न उम्मेदवारी दिन लागेको बताए ।
FACEBOOK COMMENTS