पोखरा । पोखरा महानगरपालिकाले युवाहरूमा सूचना तथा सञ्चार प्रविधि सम्बन्धी व्यवहारिक सीप विकास गर्न तथा डिजिटल सुशासन र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले ’डिजिटल गभ ह्याकाथन’ कार्यक्रम सञ्चालन गर्ने भएको छ।
पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा अन्तर्गत व्यवसाय प्रवद्र्धन केन्द्रले स्वीकृत वार्षिक कार्यक्रम आर्थिक वर्ष २०८२/८३ अनुसार ’आईसीटी बुटक्याम्प कार्यक्रम’ अन्तर्गत उक्त ह्याकाथन आयोजना गर्न लागेको जनाएको छ ।
कार्यक्रममा सहभागी हुन इच्छुक युवालाई सूचना प्रकाशित भएको मितिले १० दिनभित्र व्यवसाय प्रवद्र्धन केन्द्रमा वा उपलब्ध अनलाइन फाराममार्फत आवेदन दिन आग्रह गरिएको छ ।
कार्यक्रमअन्तर्गत सहभागीहरूलाई पहिलो चरणमा १० दिनको आईसीटी बुटक्याम्प तालिम प्रदान गरिनेछ। त्यसपछि ३ दिनको ’डिजिटल गभ ह्याकाथन’ आयोजना गरिनेछ, जहाँ सहभागी टोलीहरूले सरकारी सेवा वा पोखरा महानगरपालिकासँग सम्बन्धित समस्या समाधानका लागि नवप्रवर्तनात्मक डिजिटल नमुना प्रस्तुत गर्नुपर्नेछ । उत्कृष्ट प्रस्तुति गर्ने टोलीलाई पुरस्कारको व्यवस्था गरिएको छ। जसअनुसार प्रथम हुने टोलीले ५० हजार रुपैयाँ, द्वितीय हुनेले ४० हजार रुपैयाँ र तृतीय हुने टोलीले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
कार्यक्रममा सहभागी हुनका लागि कम्तीमा १०+२ वा सो सरह उत्तीर्ण गरेको प्रमाणपत्रको प्रतिलिपि, नेपाली नागरिकता वा राष्ट्रिय परिचयपत्रको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्नेछ । सहभागीको उमेर १६ देखि ४० वर्षसम्म हुनुपर्नेछ । साथै सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा रुचि र ज्ञान भएको उल्लेख गरिएको संक्षिप्त विवरण तथा डिजिटल शासनमार्फत सार्वजनिक सेवा सुधारसँग सम्बन्धित समस्या र समाधानको अवधारणा समेटिएको संक्षिप्त विवरण पनि पेश गर्नुपर्ने जनाइएको छ ।

व्यवसाय प्रवद्र्धन केन्द्रका अनुसार कार्यक्रममा बढीमा ४० जना सहभागी छनोट गरिनेछन् । सहभागीहरूको छनोट संक्षिप्त विवरण र अवधारणा नोटका आधारमा गरिने बताइएको छ ।

FACEBOOK COMMENTS