पर्सा । पर्सा प्रहरी प्रमुखमा प्रहरी उपरीक्षक (एसपी ) गौतम मिश्र आएसँगै जिल्ला प्रहरी कार्यालय वीरगन्जमा दलालको बिगबिगी र पहुँच पुरानै अवस्थामा फर्केको छ ।
प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुङ्गेलको कार्यकालमा दलाल र तस्करलाई जिल्ला प्रहरी कार्यालय पर्सामा प्रवेश निषेध गरिएको थियो ।संस्थागत तस्करी शून्यमा झारेका एसपी ढुङ्गेल पर्सामा शान्ति सुव्यवस्था कायम राख्न दरिलो रूपमा प्रस्तुत भएकै कारण पर्साबासी जनताको मन जित्न सफल भएका थिए । एसपी ढुङ्गेल जनताको समस्याको समाधान आफ्नै कमान्डमा स्वस्फूर्त रूपमा गर्थे । तर, एसपी मिश्र पर्सा आएदेखि जिल्ला प्रहरी कार्यालय पर्साको माहोल फेरिएको छ ।
कार्यालयको हाताभित्र सेवाग्राहीभन्दा दलालकै बढी भीडभाड रहेको देखिन्छ । एसपी ढुङ्गेलको पालामा जिप्रकाको मूल गेटमा झुन्डयाइएको ‘दलाल प्रवेश निषेध’ इन्ट्री राखिएकोमा एसपी मिश्र आएपछि हटाइएको छ ।
एसपी ढुङ्गेल पारदर्शी काम-कामकारबाही गर्न-गराउन बनाइएको नीति-निर्देशन लत्याउँदै पुरानै रबैयामा फर्केका हुन् । जिल्ला प्रहरी कार्यालयमा अहिले दलालको बिगबिगी र कर्मचारीको व्यवहारले यसअघि खडा गरिएको सिस्टम ब्रेक भएको छ । विभिन्न बहानामा कार्यालयका कर्मचारीहरूले सेवाग्राहीलाई हैरान बनाउने गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्सामा केही दलालको बिगबिगी बढेको प्रहरी स्रोतले नै जनाएको छ । ८ देखि १० जनासम्म दैनिकजसो प्रहरी कार्यालयमा देखिने गरेको नाम नखुलाउने शर्तमा एक प्रहरी अधिकृतले जानकारी दिए ।
प्रहरीमा मुद्दा मिलाइदिने, दर्ता गराइदिने लगायतका बहाना देखाउँदै सर्वसाधारणलाई ठग्नका लागि ८ देखि १० जनासम्म दलाल बस्ने गरेको प्रहरी स्रोतको गुनासो छ ।
कोही दलका नेता त कोही पत्रकार मिलाइदिने नाममा दलाली गर्न र अवैध काम गर्न पल्केका ती प्रहरी अधिकृतको भनाइ छ । गाउँघरको सामान्य झैँ-झगडादेखि मिटरब्याजको मुद्दा, लागुऔषधको मुद्दा, केटाकेटी भागेको र आपराधिक गतिविधिका मुद्दामा ती दलाल सक्रिय भएको र केहीले प्रहरीकै नाममा रकमसमेत असुली गरेको गुनासा आएको पर्साबासीको दाबी रहेको छ । दलालको पहुँच कार्यालयका महत्त्वपूर्ण फाइल राखिएका कोठासम्म रहेको समेत खुलासा भएको छ ।
यस विषयमा थप केरकारका लागि विभिन्न ठाउँबाट आएका सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्क गर्दा दलालको समस्या सबै सरकारी अड्डामा भएको बताउन समेत पछि परेनन् । जिल्ला प्रहरी कार्यालयमा भएको दलालको बिगबिगी त एउटा उदाहरण मात्र रहेकाे उनीहरूले बताए ।
यो विषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक सुवास भट्टसँग बुझ्दा जिल्ला प्रहरी कार्यालय पर्सामा बिचौलिया प्रवेशमा रोक लगाइएको साथै यदि बिचौलिया पाएको खण्डमा तुरुन्तै कारवाहीको दायरामा ल्याउने बताए ।
पर्साको जिल्ला प्रशासन कार्यालय , जिल्ला अदालत, मालपोत कार्यालय, नापी कार्यालय , नापी गोश्वारा, भूिम सुधार कार्यालयलगायत जनताहरूसँग प्रत्यक्ष सरोकार राख्ने अन्य विभिन्न कार्यालयहरूले सेवाग्राहीहरूसँग दलालको माध्यमबाट मनलाग्दो रकम असुल्ने सेवाग्राहीहरूको गुनासो रहेको छ ।
यो विषयमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख गणेश अर्यालसँग बुझ्दा सबै निकायसँग समन्वय गरेर बिचौलिया नियन्त्रण गर्न लागिपरेकाे बताए । उनले भने, ‘बिचौलियाकै कारणले आम सेवाग्राही ठगिने गरेका छन् ।’
उनका अनुसार सेवाग्राही ठगिएको उजुरी आउनसाथ तत्कालै कारबाही प्रक्रिया अगाडि बढाएको बताए । उनी आफैँले मालपोत कार्यालयमा तीनचोटि अनुगमन गरेर बिचौलिया नियन्त्रण गरेको बताए । जानकारी आउनसाथ आफू हरपल बिचौलिया नियन्त्रण गर्न लागिपरेको उनले बताए । -सञ्जीव मिश्र
FACEBOOK COMMENTS