काठमाडौं । नेपाल प्रहरीको प्रशासनतर्फका आठ जना र प्राविधिकतर्फका पाँच जना गरी १३ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।
गृह मन्त्रालय (सचिवस्तर) को चैत २१ गते गरिएको निर्णयले एक तह पदोन्नति भएकाहरूलाई प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आज शुक्रबार दर्ज्यानी प्रदान गरेका हुन् ।
दर्ज्यानी चिह्न प्राप्त गर्नेहरूमा प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका ढकेन्द्र खतिवडा, अंगुर जीसी, यादव ढकाल, सन्तोष तामाङ्ग, श्याम बाबु ओलिया, निरञ्जन दत्त भट्ट, राजन लिम्बु, बिनोद घिमिरे र प्राविधिकतर्फका कमला लामा छन् ।
यसैगरी, प्रावधिकतर्फ प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएका लक्ष्मी थापा, नितिन लाखे, चेतनारायण ज्ञवाली र सोम प्रसाद पङ्गेनी रहेका छन् ।
समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका प्रहरी अधिकृतहरूले आर्थिक लोभ, मोह तथा व्यक्तिगत महत्वकांक्षा र स्वार्थ भन्दामाथि उठेर साङ्गठनिक मूल्य र मान्यतालाई प्राथमिकतामा राखेर व्यावसायिक प्रहरी अधिकृतको रूपमा थप जिम्मेवार भई खरो रूपमा उत्रने विश्वास लिइएको बताए । पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई आ–आफ्नो क्षेत्रअन्तर्गत संगठनको सुदृढीकरणका लागि रचनात्मक क्रियाशीलतातर्फ अग्रसर रहन उनले निर्देशन दिए ।
FACEBOOK COMMENTS