काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीले अतिरिक्त महानिरीक्षक (एआईजी)को नेतृत्वमा प्रहरी टोली मधेश प्रदेशमा खटाएको छ।
शुक्रबार नेपाल प्रहरीले एआईजी हिमालयकुमार श्रेष्ठको नेतृत्वमा प्रहरी टोली मधेश पठाएको छ। उनी नेपाल प्रहरीको कार्य विभागका प्रमुख हुन्।
मधेशमा शान्ति सुरक्षालाई ध्यानमा राखेर वरिष्ठ प्रहरी अधिकारीहरूलाई पठाइएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी अविनारायण काफ्लेले जानकारी दिए।
त्यस्तै, सशस्त्र प्रहरी बल, नेपालले एआईजी गणेश ठाडा मगरको नेतृत्वमा सशस्त्रको टोली मधेश पठाएको छ। उनी पनि सशस्त्र प्रहरी बलको कार्य विभाग प्रमुख हुन्।
साउन ९ गते सुनसरीको कप्तानगन्ज बजारमा दुई समूहबीच विवाद भएको थियो। विवाद बढ्दै जाँदा झडपमा परिणत भएको थियो।
स्थित नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा एक युवकको मृत्यु भएको थियो। त्यसपछि सुनसरीसँगै मधेशका आसपासका जिल्लामा तनाव उत्पन्न भएको थियो।
विभिन्न स्थानमा सुरक्षाकर्मी र स्थानीय बासिन्दाबीच झडप भएको छ। सुरक्षाकर्मीको गोली लागेर तीन जनाको ज्यान गएको छ भने दर्जनौं घाइते भएका छन्।