काठमाडौं । प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम पेस भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत नीति तथा कार्यक्रम प्रतिनिधिसभामा पेस गरेका हुन् ।
नीति तथा कार्यक्रममाथि छलफल र प्रधानमन्त्रीको जवाफका लागि वैशाख २२, २३, २४, २५, २६ र २८ गतेको मिति तोकिएको छ ।
नीति तथा कार्यक्रममाथि दलीय प्रतिनिधित्वका आधारमा छलफल गर्न सम्बन्धित दलका पदाधिकारीहरूले वक्ता सांसदहरूको नाम बैठक सुरु हुन एक घण्टाअगाडि सङ्घीय संसद् सचिवालयको कार्यव्यववस्था शाखामा उपलब्ध गराउनुपर्ने सभामुख देवराज घिमिरेले जानकारी दिए ।
नीति तथा कार्यक्रममाथि संशोधन पेस गर्न चाहने सांसदहरूले सोको सूचना वैशाख २० र २१ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेभित्र सङ्घीय संसद् सचिवालयको कार्यव्यववस्था शाखामा उपलब्ध गराउनुपर्नेछ । संशोधनको सूचना फाराम पनि सोही शाखाबाट उपलब्ध हुनेछ ।
प्रतिनिधिसभाको अर्को बैठक वैशाख २२ गते सोमबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।
FACEBOOK COMMENTS