काठमाडौं । राष्ट्रियसभामा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम टेबुल भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत नीति तथा कार्यक्रमको प्रति राष्ट्रियसभामा टेबुल गरेका हुन् ।
उनले यसअघि प्रतिनिधिसभामा पनि नीति तथा कार्यक्रम टेबुल गरेका थिए ।
नीति तथा कार्यक्रममाथि संशोधन पेस गर्न चाहने सांसदहरूले वैशाख २१ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेभित्र राष्ट्रियसभाको कार्यव्यवस्था शाखामा सूचना दिन सक्ने र सूचनाको फाराम सोही शाखाबाट उपलब्ध हुने राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल गर्न वैशाख २२ र २३ गतेको मिति निर्धारण गरिएको छ । छलफलमा भाग लिन चाहने सांसदहरूले दलीय प्रतिनिधित्वका आधारमा छलफल हुने दिनको एक दिनअगावै राष्ट्रियसभाको कार्यव्यवस्था शाखामा नाम टिपाउनुपर्नेछ ।
राष्ट्रियसभाको अर्को बैठक वैशाख २१ गते आइतबार दिउँसो १२ बजेर १५ मिनेटमा बजे बस्ने गरी स्थगित भएको छ ।
FACEBOOK COMMENTS