काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) तथा बागमती प्रदेश अटोमोबाइल्स एसोसिएसनको आयोजनामा “ईभिजन नेपाल: ड्राइभिङ द फ्युचर” अभियान अन्तर्गत “पोलिसि डाइलग अन इलेक्ट्रिक भेहिकल एडप्सन” कार्यक्रम हेटौंडामा सम्पन्न भएको छ ।
करिब ३५ जना सहभागीहरूको उपस्थिति रहेको यस पोलिसि डाइलगमा विभिन्न सरकारी निकायका प्रतिनिधि, अटोमोबाइल्स सम्बन्धी संघसंस्था, अटोमोबाइल डिलर, अटो मेकानिक्स, अटो वर्कशप सञ्चालक, इन्जिनियर, इभी प्रयोगकर्ता, पत्रकार, समाजसेवी, स्थानीय क्लब तथा सामाजिक संस्थाका प्रतिनिधि, चालक लगायतको सहभागिता रहेको थियो । बागमती प्रदेश अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष राजन पियाले अध्यक्षता गरेकोे कार्यक्रमको सञ्चालन नासा नेपालका कार्यकारी निर्देशक गोविन्द भट्टराईले गरेका थिए ।
कार्यक्रम सुरुमा मेकानिकल इन्जिनियर आदर्श पौडेलले इभीको आधारभूत परिचय, ब्याट्री प्रविधि तथा ब्याट्री व्यवस्थापन, विश्वव्यापी इभी बजार तथा उत्पादन अवस्था, नेपालको सन्दर्भ, कर प्रणाली, इभी र परम्परागत साधन बीचका फाइदा तथा चुनौती, नेपालको सम्भावना र अवसर, साथै विद्यमान चुनौतीहरूका विषयमा विस्तृत प्रस्तुति दिएका थिए ।
संवाद कार्यक्रममा नेपालमा इभीको वर्तमान अवस्था र बढ्दो प्रयोगको सन्दर्भबाट छलफल प्रारम्भ गरिएको थियो । सहभागीहरूले इभीप्रति आम नागरिकको धारणा, बजारको अवस्था, प्रयोगकर्ताले भोगिरहेका अनुभव तथा विद्यमान चुनौतीहरूबारे आफ्ना विचार राखेका थिए । त्यसैक्रममा इभी सञ्चालनसँग सम्बन्धित प्राविधिक समस्या, नियमित मर्मतसम्भार, रिसेल भ्यालू तथा बिक्रीपछिको सेवाका विषयमा समेत छलफल गरिएको थियो ।
सहभागीहरूले कर प्रणाली, नीति स्थायित्व, अन्तरसरकारी निकायबीच समन्वय, सरकार–सरकार (जीटुजी) सहकार्यमार्फत स्थायी इभी आयात तथा ब्याट्री व्यवस्थापन प्रणाली विकास आवश्यक रहेको धारणा व्यक्त गरेका थिए । साथै, दीर्घकालीन विद्युत् आपूर्ति, चार्जिङ स्टेशन विस्तार तथा आवश्यक पूर्वाधार विकासका लागि स्पष्ट राष्ट्रिय योजना आवश्यक रहेको विषयमा जोड दिइएको थियो ।

कार्यक्रममा वातावरणीय तथा सामाजिक प्रभावका विषयमा पनि विशेष छलफल गरिएको थियो । विशेषगरी प्रयोगपछि हुने ब्याट्री डिस्पोजल तथा पुन:प्रयोग (रियुज) व्यवस्थापन, स्थानीय समुदायमा पर्ने प्रभाव तथा दिगो समाधानका उपायहरूबारे सहभागीहरूले धारणा राखेका थिए ।

रोजगारी तथा सीप विकाससँग सम्बन्धित विषयमा इभी प्रवद्र्धनसँगै नयाँ रोजगारी सिर्जनाको अवसर बढ्ने भए पनि अटोमोबाइल क्षेत्रमा कार्यरत हजारौँ दक्ष जनशक्तिमा असर पर्न सक्ने विषयमा छलफल भएको थियो । दक्ष इभी मेकानिक्सको अभाव, प्राविधिक तालिमको आवश्यकता तथा सरकार र वितरक कम्पनिले सीप विकास कार्यक्रम विस्तार गर्नुपर्ने विषयमा सहभागीहरूले जोड दिएका थिए ।

सार्वजनिक यातायातमा इभीको प्रयोग तथा त्यससँग सम्बन्धित सुरक्षा मापदण्डका विषयमा पनि छलफल गरिएको थियो । सार्वजनिक यातायातमा प्रयोग भइरहेका केही इभीको संरचनागत सुधार, दुर्घटनापछि आवश्यक प्राविधिक व्यवस्थापन, इभी सुरक्षासम्बन्धी मापदण्ड तथा दुर्घटना न्यूनीकरणका लागि आवश्यक प्रणालीगत समाधानबारे सरोकारवालाहरूले धारणा व्यक्त गरेका थिए ।
त्यसैगरी सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा इभीसम्बन्धी समाचार तथा घटनाको
प्रस्तुतीकरणबारे पनि छलफल भएको थियो । इभीसम्बन्धी नकारात्मक समाचारले आम जनमानसमा असर पार्न सक्ने भएकाले तथ्यपरक र सन्तुलित सूचना प्रवाह आवश्यक रहेको सहभागीहरूले बताएका थिए ।
संवाद कार्यक्रमबाट प्राप्त सुझाव तथा निष्कर्षहरूलाई अन्तिम प्रतिवेदनमा समावेश गरी अन्तर्राष्ट्रिय संस्था, संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय तहहरूमा बुझाइने छ । उक्त प्रतिवेदनले नेपालमा इभी प्रवद्र्धन तथा दिगो यातायात प्रणाली विकासका लागि प्रभावकारी नीतिगत ढाँचा निर्माणमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
एफआईए सेफ एण्ड सस्टेनेबल मोबिलिटी ग्रान्टको सहयोगमा भइरहेको “ईभिजन नेपाल: ड्राइभिङ द फ्युचर” कार्यक्रम अन्तर्गत देशव्यापी रूपमा २ हजार सहभागीहरूको सर्वेक्षण, ३० जना सरोकारवालासँग अन्तर्वार्ता, ४ वटा क्षेत्रीय पोलिसि डाइलग, १ राष्ट्रिय कार्यशाला तथा ९० जना पत्रकारलाई तालिम गरिने कार्यक्रम रहेको छ । प्रत्यक्ष कार्यक्रम, सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत करिब १ लाख मानिससम्म जनचेतना तथा प्रचारप्रसार पु–याउने लक्ष्य रहेको छ ।