काठमाडौं। अमेरिकाको न्युयोर्कमा पोलियोका एक बिरामी भेटिएको छ ।
अमेरिकाको रकल्याण्ड काउन्टीमा बस्ने २० वर्षका एक युवकमा पोलियोको भाइरस भेटिएको छ । उनले पोलियोको भ्याक्सिन लगाएका थिएनन् । स्थानीय स्वास्थ्य अधिकारीले यसको अनुसन्धानपछि बिहिबार यसबारे जानकारी दिएको हो । १० वर्ष अघि अमेरिकालाई पोलियोमुक्त घोषणा गरिएको थियो । त्यसपछि यो पहिलो केस भेटिएको हो ।
२० वर्षका यी व्यक्तिलाई जून महिनामा अस्पताल भर्ना गरिएको थियो । द वासिङ्टन पोस्टको रिपोर्ट अनुसार रकल्याण्डमा बस्ने युवकलाई प्यारालाइसिस भएको हो । उनलाई एक महिना अघि लक्षण देखिएको थियो र देशको स्वास्थ्य अधिकारीका अनुसार उनी देश बाहिर कतै पनि गएका थिएनन् ।
हाल उनी अस्पतालबाट डिस्चार्ज भएका छन् र उनी आफ्नी श्रीमती र बालबच्चासँग घरमा बसिरहेका छन् । उनी उभिन त सक्छन् तर उनलाई हिँड्न भने गाह्रो भइरहेको छ ।
द वासिङ्टन पोस्टका अनुसार एक स्वास्थ्य अधिकारीले यसबारे जानकारी दिँदै भने, ‘पोलियो एक भाइरल रोग हो जसले स्नायु प्रणालीलाई प्रभावित गर्छ । यसले मांसपेशीलाई कमजोर बनाउन सक्छ र केही मामिलामा मृत्यु पनि हुनसक्छ ।
यी व्यक्तिबाट अब पोलियो सर्दैन तर अनुसन्धानकर्ताले संक्रमण कहाँबाट भयो र अन्य व्यक्ति पनि भाइरसको चपेटामा परेका छन् कि भन्ने जानकारी बटुल्न थालेका छन् । धेरैजसो अमेरिकीले पोलियोको भ्याक्सिन लगाएका छन् तर भ्याक्सिन नलगाएका व्यक्तिहरुले यसबाट पाठ सिक्नुपर्ने बेला भएको जेनिफर नुजोले बताएकी छिन् । उनी ब्रान युनिभर्सिटी प्यान्डामिक रिसर्चर हुन् ।
‘यो साधारण होइन, हामी खासमा यस्तो हेर्नै चाहँदैनौँ,’ नुजोले भनिन् । ‘यदि तपाईंले भ्याक्सिन लगाउनुभएको छ भने तपाईं खासै डराउनु पर्दैन । तर तपाईंले आफ्ना बालबच्चालाई पोलियोको खोप लगाइदिनुभएको छैन भने यो कति महत्वपूर्ण छ भनेर बुझ्नुहोला ।’
स्वास्थ्य विभागद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ – ९५ प्रतिशत व्यक्तिमा पोलियोका कुनै लक्षण देखिँदैनन् तरपनि उनीहरुले भाइरस फैलाउन सक्छन् । काउन्टी स्वास्थ्य आयुक्त डा. पेट्रिसिया श्रान्बेल रुपर्टले भनिन्, ‘हामी स्थितिलाई निकै सुक्ष्म तरिकाले निगरानी गरिरहेका छौँ । हामी न्युयोर्क राज्य स्वास्थ्य विभाग, रोग नियन्त्रण र रोकथाम केन्द्रसँग मिलेर काम गरिरहेका छौँ ।’
FACEBOOK COMMENTS