काठमाडौँ । सुरक्षा निकायका अवकाशप्राप्त उच्च अधिकारीहरूको रुचि राजनीतिक क्षेत्र बन्न थालेको छ । कतिपयले पदमा रहँदा नै देखाएको झुकावका आधारमा अवकाशपछि राजनीतिक आबद्धतालाई सक्रिय बनाउँदै आएका छन् ।
अवकाशपछि राजनीतिक दलमा सक्रिय रहनेमा पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी), प्रहरी नायब महानिरीक्षक (डीआईजी)समेत रहेका छन् । यस्तै वरिष्ठ उपरीक्षक (एसएसपी), प्रहरी उपरीक्षक (एसपी) तथा नायब प्रहरी उपरीक्षक (डीएसपी)हरू पनि पार्टी प्रवेशसँगै चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
सङ्गठनमा रहँदा विवादमा परेका र भ्रष्टाचारलगायतका आरोप लागेका कतिपय पूर्वप्रहरी विगतमा आफूमाथि लागेका आरोप र मुद्दाबाट जोगिने उद्देश्यले राजनीतिक संरक्षणका लागि विभिन्न दलमा प्रवेश गर्ने गरेको चर्चा बढी हुने गरेको छ । राजनीति शास्त्रका प्राध्यापक डा. लोकराज बरालले अवसर खोज्ने र व्यक्तिगत स्वार्थ पूरा गर्नका लागि विभिन्न पृष्ठभूमिका व्यक्ति राजनीतिक दलमा प्रवेश गर्ने गरेको बताए । नेपालजस्ता विकासशील राष्ट्रमा राजनीतिक दल प्रवेश स्वार्थ केन्द्रित रहँदा आदर्श राजनीति शून्यप्रायः रहेको भन्दै उनले नेपालको राजनीतिमा पद, पैसा र शक्ति हावी हुँदा विवादित तथा फरक पृष्ठभूमिका व्यक्ति पार्टी प्रवेश गर्ने गरेको बताए ।
“जसले बढी रकम दिनसक्छ उसलाई नेताहरूले पार्टीमा अवसर दिने र पार्टीमा लाग्नेहरूले त्यसलाई गलत रूपमा प्रयोग गरेर अकुत सम्पति आर्जन गर्ने नेपालको राजनीतिमा सामान्यजस्तै भइसकेको छ” डा. बरालले भने ।
पूर्वआईजीपी मोतीलाल बोहोरा, ध्रुवबहादुर प्रधान, प्रदीपशमशेर जबरा, रवीन्द्रप्रताप शाह, सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी बलका पूर्वएआईजी ऋषभ भट्टराई, पूर्वडीआईजी नवराज सिलवाल, रमेश खरेल, गणेश राई, पूर्वएसएसपी सनमसिंह कुर्मीलगायतको पार्टी प्रवेशले कुनै बखत निकै चर्चा पाएको थियो । पूर्वआईजीपी बोहोरा अछामबाट नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि चुनिनुभएको छ । राप्रपामा आबद्ध प्रधान हाल भइरहेको एकता महाधिवेशनमा उपाध्यक्ष पदका प्रतिस्पर्धी छन् ।
नेकपा (माओवादी केन्द्र)निकटका शाह केन्द्रका तर्फबाट संविधान सभा सदस्य बनेका थिए । पूर्वआईजीपी जबरा शरतसिंह भण्डारी नेतृत्वको तत्कालीन राष्ट्रिय मधेस समाजवादी पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्यमा पराजित भएका थिए भने पूर्वडीआईजी गणेश राई र पूर्वएसएसपी कुर्मी पनि सोही पार्टीमा आबद्ध भएको आजकाे गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS