काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेकपा (एमाले) बागमती प्रदेश र काठमाडौं जिल्ला कमिटीका नेताहरूले भेट गरेका छन् ।
बिहीबार दिउँसो प्रचण्ड निवास खुमलटार पुगेर एमाले नेताहरू राजन भट्टराई, दीपक निरौला, विद्यासुन्दर शाक्यलगायतले उनीसँग भेट गरेका हुन्।
भेटमा एमाले नेताहरूले काठमाडौंका नदी किनाराका जमिन र बस्तीका विषयमा सर्वोच्च अदालतले गरेको फैसलाबारे ध्यानाकर्षण गराएका छन् ।
अध्यक्ष प्रचण्डले काठमाडौंको नदी किनाराका जग्गाका सम्बन्धमा देखिएको समस्या सम्बन्धी पार्टीको धारणा केन्द्रीय समितिको बैठकपछि तय गर्ने बताएका छन् ।
नदी किनाराका जग्गाका सम्बन्धमा देखिएको समस्या समधानका लागि पहलको आग्रहसहित भेटघाटका लागि पुगेको सर्वदलीय प्रतिनिधिमण्डलसँग कुरा गर्दै उनले यो निर्णय कार्यान्वयनमा समस्या देखिएकाले सरकार अदालतमा भ्याकेटमा जाँदा ठिकै हुने उल्लेख गरे ।
सर्वदलीय भेटमा सहभागीहरूले नदी किनाराका जग्गा छाड्नुपर्ने अदालतको फैसलापछि काठमाडौंमा ठूलो समस्या सुरू भएको बताए ।
अदालतको आदेशअनुसार काठमाडौंको नदी, खोला र राजकुलोसमेत दायाँबायाँ २०-२० मिटर छाड्नुपर्दा दशौं हजार घरपरिवार विस्थापित हुने र पशुपतिनाथ मन्दिर पनि सार्नुपर्ने अवस्था आउने बताए ।
काठमाडौं महानगरपालिका प्रमुखले कार्यान्वयन गर्ने एकल निर्णय गरेपछि थप समस्या आएको भन्दै उनीहरूले यो फैसला कार्यान्वयन भएमा आर्थिक रूपमा अराजकता पैदा हुने बताए ।
FACEBOOK COMMENTS