काठमाडौं । भ्रष्टाचारको मुद्दा लागेका विपक्षी दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको सांसद पद स्वतः निलम्बन भएको जानकारी संसदलाई गराइएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले संसदलाई उक्त जानकारी गराएका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालविरुद्ध जेठ २२ गते भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनको सांसद पद स्वतः निलम्बनमा परेको थियो । पतञ्जलि योगपिठको जग्गा सट्टापट्टामा संलग्न भई भ्रष्टाचार गरेको आरोपमा उनीविरुद्ध मुद्दा दायर भएको थियो ।
प्रचलित भ्रष्टाचार निवारण ऐनको दफा ३३ मा भ्रष्टाचार मुद्दा दायर भएसँगै सांसद पद निलम्बन हुने व्यवस्था छ । निलम्बित सांसद सङ्घीय संसद र यसअन्तर्गतका समितिहरूका कुनै पनि बैठकमा सहभागी हुन पाउँदैनन् । यस्तोमा सम्बन्धित सांसदको तलबभत्ता पनि रोकिन्छ । यद्यपि, सांसद पद निलम्बनको सूचना सभामुखले संसदमा सुनाउनुपर्ने व्यवस्था छ ।
तर, उस्तै मुद्दा लागेर स्वतः निलम्बनमा परेका नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतको पद निलम्बनको सूचना भने हालसम्म पनि संसदमा सुनाइएको छैन । जबकि, उनीविरुद्ध माधव नेपालविरुद्ध भन्दा अगाडि नै भ्रष्टाचार मुद्दा दायर भएको थियो । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका बस्नेतविरुद्ध टेरामक्स खरिद प्रकरणमा जेठ १ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको थियो ।
यसप्रकार, सभामुख देवराज घिमिरेले माधव नेपाल र मोहन बस्नेतको सांसद पद निलम्बनमा पनि दोहोरो चरित्रको प्रदर्शन दोहोर्याएका छन् । विपक्षी दलका सांसदको पद निलम्बन भएको सूचना संसद अघि बढ्नेबित्तिकै (यसबीच भिजिट भिसा प्रकरणमा विपक्षी दलको अवरोधले संसद सञ्चालन हुन सकेको थिएन, आज सत्तापक्ष पेलेरै अगाडि बढेको हो) सुनाइएको छ तर सत्तापक्ष पक्षका सांसदलाई भने संरक्षण गरिएको छ ।
यसअघि, नेकपा (एमाले) का सांसद टोपबहादुर रायमाझीविरुद्ध नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा दर्ता भइसकेपछि पनि सभामुख घिमिरेले उनको पद निलम्बन गरेका थिएनन् । सांसदलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएमा मात्र पद निलम्बन हुने प्रतिनिधिसभाको नियमावलीमा टेकेर उनले रायमाझीको पद निलम्बन गरेका थिएनन् । रायमाझीलाई अदालतले थुनामा पठाउने आदेश दिइसकेपछि मात्र सभामुख घिमिरेले उनको पद निलम्बन गरेका थिए ।
तर, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेको हकमा भने उनले मुद्दा दर्ता हुनेबित्तिकै पद निलम्बन गर्ने निर्णय गरेका थिए ।
FACEBOOK COMMENTS