काठमाडौं । सभामुख देवराज घिमिरेले विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्याल र प्रमुख सचेतक सन्तोष परियारसँग छलफल गरेका छन् ।
आज सोमबार बिहान सरकारी निवास बालुवाटारमा दुई पक्षबीच एक घण्टा लामो छलफल भएको हो ।
उक्त छलफलमा सभामुख घिमिरेले दुई सातादेखि विपक्षीको अवरोधले संसद बन्धक बनेको भन्दै अब संसद रोक्न नसकिने बताए । रास्वपालाई सरकारको संवैधानिक सीमा र बाध्यतालाई बुझेर आन्दोलनको स्वरूप फेर्न आग्रह गर्दै उनले सरकारसँग संवादका लागि आफूले सहजीकरण गर्ने आश्वासन दिए ।
‘दुई सातादेखि विपक्षीको अवरोधले संसद बन्धक भयो । बजेटबारे व्यापक छलफल गर्नुपर्ने, समृद्ध बनाउने बेला संसद अवरुद्ध हुँदा जनतामा गलत सन्देश गएको छ । विपक्षीले उठाएका मुद्दा गम्भीर छन्, त्यही भएर दुई सातासम्म संसदलाई सहमतिका लागि रोकेको हुँ,’ सभामुख घिमिरेले भने, ‘तर, अब रोक्ने अवस्था छैन । संसदको नेतृत्वका हिसाबले मैले संवैधानिक सीमालाई पनि ख्याल गर्नुपर्दछ । राष्ट्रियसभाले ५ गतेभित्र प्रतिनिधिसभाबाट विनियोजन विधेयक पठाउन भनेको छ । यस्तो अवस्थामा जुनसुकै हालतमा बजेट पारित गर्नै पर्दछ । तपाईंहरूले आफ्नो आन्दोलनको स्वरूप बदलेर पनि संवैधानिक सीमा र बाध्यता बुझ्नुपर्छ । बरु सरकारसँग संवादका लागि आवश्यक सहजीकरण म गर्नेछु । गम्भीर भएर छलफल गरौँ ।’
यद्यपि, रास्वपाले भने आफ्नो अडान कायमै रोखेको छ । अहिलेकै अवस्थामा मुद्दाबाट पछाडि फर्कन सक्ने अवस्था नरहेको जनाउँदै उसले निकासका लागि छलफल र संवादमै रहेको बताएको छ ।
‘जनताको वास्तविक समस्या उठाएका छौँ । हाम्रा माग र मुद्दामा सरकार गम्भीर नभएकाले संसद अवरोध बाध्यात्मक भएको हो,’ रास्वपाका प्रमुखकार्यवाहक सभापति डीपी अर्यालले भने, ‘अहिलेकै अवस्थामा हामी मुद्दाबाट पछाडि फर्कन सक्ने अवस्थामा छैनौँ । तथापि, हामी अहिलेको निकासका लागि छलफल र संवादमा नै छौँ ।’
FACEBOOK COMMENTS