काठमाडौं । प्रतिनिधिसभाको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरे र राष्ट्रिय दलका प्रमुख सचेतक र सचेतकहरूबीचको छलफल निष्कर्षविहीन भएको छ ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आइतबार भएको छलफल टुंगोमा नपुगेको नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । उनले हिंसा शब्दले ‘जनयुद्ध’ को मानमर्दन गरेकाले माओवादी केन्द्रले प्रतिनिधिसभा बैठक अवरोधलाई कायमै राख्ने निर्णय गरेको बताए ।
छलफलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक, सचेतकहरू थिए ।
सभामुख घिमिरेले भदौ २६ गतेको बैठकमा एमाले सांसद योगेश भट्टराईले प्रतिनिधिसभा बैठकमा प्रयोग गरेको ‘हिंसा’ शब्द असंसदीय नभएको रूलिङ गरेका थिए ।
सांसद भट्टराईले संसदमा बोल्ने क्रममा हिंसा प्रयोग गरेको भन्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति गरेका थिए । सभामुखले त्यसकै निर्णय सुनाउँदै हिंसा असंसदीय नरहेको बताएका थिए ।
माओवादी केन्द्रका सांसदहरूले त्यसको प्रतिवाद गरेका थिए। माओवादी केन्द्रका सांसदले संसद सञ्चालनमा अवरोध पुर्याएपछि बैठक स्थगित भएको थियो ।
सभामुखले त्यसबारे छलफल गर्न आज बैठक बोलाएका थिए। तर, उनीहरूबीच सदनको कारबाही नियमित बनाउने विषयमा कुनै सहमति नजुटेको हो ।
FACEBOOK COMMENTS