काठमाडौं । आजको मितिसम्म पनि भारतले औपचारिक रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रमणको निम्तो दिएको छैन । प्रायः नेपालका प्रधानमन्त्रीले नियुक्त भएपछिको पहिलो भ्रमण भारतबाट गर्ने परिपाटी छ । २०६४ को संविधानसभापछि पहिलो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०६५ साउनमा चीनको भ्रमण गरेका थिए । तत्कालीन चिनियाँ राष्ट्रपति हु जिन्ताओसँग प्रचण्डको भेट भएको थियो । बेइजिङ ओलम्पिक्सको समापन समारोहमा सहभागी हुन उनी चीन गएका थिए ।
प्रचण्डले चीन भ्रमण गरेपछि नेपालका प्रधानमन्त्रीले भारतभन्दा पहिले चीन भ्रमण गरेको भनेर चर्चा-परिचर्चा सुरू भयो । त्यसयता नेपालका प्रधानमन्त्रीले औपचारिक रूपमा राजकीय भ्रमण भारतबाट नै गर्ने परिपाटी बस्दै आएको छ ।
तर, ओली सरकार बनेको करिब चार महिना बितिसक्दा पनि भारतबाट औपचारिक निम्ता नआएको र चीनले समयमै रातो कार्पेट देखाएपछि ओली भारत छाडेर चीनको भ्रमणमा हानिए । त्यसपछि भारतको पूरै नजर चीन भ्रमणमा रहेका ओलीतर्फ केन्द्रित भयो । ओलीलगायतको टोली चीन जाँदा भारतीय दूतावासको सिंगो टिम ओलीले गर्ने सम्झौताको फ्रेमवर्क केके छन् भनेर चासो राख्थे । बीआरआईमा भएको सम्झौतालाई लिएर भारतको चासो अझ बढ्दो छ । किनभने भारत र अमेरिका नेपालमा बीआरआई कार्यान्वयन हुन नदिन लामो समयदेखि नै लागिरहेका थिए । त्यसमा पनि नेपाली कांग्रेस ऋण होइन अनुदान मात्र स्वीकार गर्ने, एमाले ऋण वा अनुदान जे भए पनि स्विकार्ने रणनीतिमा थिए । त्यसमै खेल्न खोजेको भारतले एमाले र कांग्रेस नै मिलेर समाधान गरेपछि भारत यतिबेला एजेन्टको प्रयोगमा लागेको हो कि भन्ने प्रश्न उठेको छ ।
चीन भ्रमणबाट आत्तिएको भारतले एक एजेन्टको सहारामा ओली सरकारको आयुको मापन गरेको छ । भारतीय गुप्चतर एजेन्सी ‘रअ’ (रिसर्च एन्ड एनालिसिस विङ) का भूतपूर्व एजेन्ट लक्की विष्टले एक अन्तर्वार्तामा केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने दाबी गरेका छन् । नवभारत टाइम्सका पत्रकार विनित त्रिपाठीसँगको अन्तर्वार्तामा उनले एक महिनाभित्र नेपालमा सरकार परिवर्तन हुने दाबी गरेका छन् । ‘आज १२ तारिख हो । तपाईंलाई अचम्म लाग्ला, तपाईंले केही दिनपछि एउटा अर्को समाचार सुन्नुहुन्छ, नेपालको सरकार ढल्नेवाला छ,’ उनी अन्तर्वार्तामा दाबी गर्छन् ।
उनी पत्रकारलाई आफूले भनेको कुरा नोट गर्न पनि आग्रह गर्छन् । ‘तपाईं नोट गर्नुहोस्, तपाईंलाई निकै छिटो १० दिन, १५ दिनभित्र खबर आउँछ, नेपालको सरकार ढल्दै छ । जुन दुई महिना पहिले बनेको थियो ।’ यसपछि पत्रकार त्रिपाठी प्रश्न गर्छन्, ‘यसको पछाडि को छ ?’
विष्ट अन्तर्वार्तामा विश्वभरमा हुने सबै घटनाको पछाडि गुप्तचर एजेन्सी हुने दाबी गर्छन् । श्रीलंका, पाकिस्तान र बंगलादेशको पछिल्लो घटनाक्रममा गुप्चतर एजेन्सीको हात रहेको उनी अन्तर्वार्तामा दाबी गर्छन् ।
त्रिपाठीसँगको अन्तर्वार्तामा उनी अगाडि भन्छन्, ‘म १२ तारिखमा यो भन्दै छु, यो कुरा दुनियाँको कुनै न्युजपेपरमा आएको छैन अहिलेसम्म । २०, १५, २५ दिन, एक महिनामा नेपालको सरकार ढल्दै छ ।’
विनाप्रमाण र आधार भारतमा अतिरञ्ति गर्ने उद्देश्यले गरिएको यस्ता टिप्पणी स्वर्गीय भेलुबाजे टाइपका अन्तर्वार्ता मात्र हुन्, त्यसले नेपालको सार्वभौमसत्तामा कुनै अर्थ राख्दैन । ‘रअ’का भूतपूर्व एजेन्ट लक्की विष्टको भनाइ प्रतिपक्षलाई मनोरञ्जन चाहिँ बन्न सक्छ । उनको भनाइल पत्यारिलो र कुनै तथ्यसँग मेल खाने देखिँदैन । नेपालको अहिलेको राजनीतिक संसदीय गणित र भूराजनीतिक कारणले पनि अहिलेको सरकार परिवर्तन भइहाल्ने सम्भावना नभएको राजनीतिक विश्लेषकहरूको बुझाइ छ । बेलाबेला आउने मिथ्या सूचनाले केही दिन अलमल्याउन सके तापनि गणितीय हिसाबले ओली सरकारको आयु पूरै अवधि जाने निश्चित छ । कुनै तथ्य र प्रमाण नै नपुग्ने, युटुबे टाइपको अन्तर्वार्तामा विश्वास गरेर हल्ला पिट्नु र ओली सरकार ढल्नु फलामको चिउरा चपाएजस्तै हो ।
भारत यतिबेला ओलीलाई औपचारिक भ्रमणमा बोलाउनुको सट्टा एजेन्ट प्रयोग गरेर ओली सरकारको भविष्यको लेखाजोखा गरिरहेको छ । विशेषतः अहिलेकै अवस्थामा ओली सरकार तत्काल ढल्ने अवस्था आउन्न । ओली सरकार ढल्दैमा पनि कांग्रेसको नेतृत्वमा सरकार बन्न बहुमत पुग्दैन । कांग्रेस, माओवादी, एकीकृत समाजवादी र केही स्वतन्त्र सांसद मिल्नुपर्ने हुन सक्छ, त्यो निकै जटिल विषय हो । संसदको चौथौ ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी अब सरकारमा नजाने निधोमा छ । किनभने पार्टी सभापति अनुसन्धानको दायरामा रहेका हुँदा सरकारमा जाँदा अनुसन्धान प्रभावित हुन सक्ने आरोप लाग्न सक्छ । राप्रपा पनि आगामी संसदको कार्यकालभरि सरकारमा नजाने रणनीतिमै छ । यसरी हेर्दा तत्काल सरकार ढल्न सक्ने आधार देखिँदैन । बरू भारतले एजेन्ट प्रयोग गरेर कतै ओली सरकारमाथि देशभित्रै प्रतिपक्षलाई बल पुर्याउन र ओलीको भारत भ्रमण नगराउन यो रणनीति सारेको त होइन भन्ने प्रश्न पनि उठेको छ ।
यसपटक प्रधानमन्त्री ओलीप्रति भारत सुरूबाटै अनुदार देखियो । प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमै भारतसँगको सम्बन्ध सुमधुर हुन सकेको थिएन । २०७२ सालमा नाकाबन्दी लगाउँदादेखि नै भारत र ओलीको सम्बन्धमा दरार आएको थियो । लिम्पियाधुरा, कालापानी जोडिएको चुच्चे नक्सा सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीसँग भारतको सम्बन्ध थप चिसियो । ओली राष्ट्रियताको मामलामा अलि बढी संवेदनशील देखिन्छन् । उनले भारतलाई नयाँ चरणबाट वार्ता गर्न र सीमा समस्या समाधान गर्न पटकपटक बैठक बस्न आग्रह पनि गरेका हुन् तर, त्यो सम्भव हुन सकेन । त्यसपछि भारत ओलीप्रति रूष्ट बन्दै गएको छ । अहिलेको अवस्थामा रअका एजेन्ट विष्टको अन्तर्वार्ता केवल झर्ला र खाउँला भनेजस्तो प्रतिपक्ष दलका लागि मनोरञ्जनको विषय मात्र बन्ने देखिन्छ ।
FACEBOOK COMMENTS