काठमाडौं । सरकारले आत्मनिर्भर घोषणा गरेको पोल्ट्री उद्योग धराशयी हुने अवस्थाको डिलमा पुगेको छ ।
कोरोना महामारीको समयमा घाटामा गएको र त्यसपछि विश्व अर्थतन्त्रमा देखिएको सुस्तीका कारण माथि उठ्न नसक्दा १ सय ६० अर्ब लगानी रहेको व्यवसाय धराशयी हुने खतरामा पुगेको पोल्ट्री व्यवसायीले बताएका छन् । सरकारले २०७७ चैतमा पोल्ट्री उद्योगलाई आत्मनिर्भर घोषणा गरेको थियो ।
विश्व अर्थतन्त्रमा देखिएको उतारचढावका कारण कुखुरालाई खुवाउने दाना उत्पादन गर्ने कच्चा पदार्थ र औषधिको मूल्य अत्यधिक बढेर किसानले लागत मूल्य पनि नपाउने खतरा बढेपछि दाना र ह्याचरी उद्योग बन्द हुने क्रम बढेको बताइएको छ । नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष ऋषिराम पौडेलका अनुसार ह्याचरी व्यवसायीले उत्पादन लागतअनुसार चल्लाको मूल्य नपाएपछि धमाधम उद्योग बन्द हुन थालेका छन् । तीन सय ६८ उद्योगमध्ये १ सय ५० बन्द भइसकेका छन् । सञ्चालनमा रहेका उद्योग पनि ६० प्रतिशत क्षमतामा मात्रै चलिरहेका छन् । त्यसैगरी १ सय १४ ओटा दाना उद्योगमध्ये ५० प्रतिशत बन्द भइसकेको व्यवसायीको दाबी छ ।
सामान्य अवस्थामा नेपालमा रहेका ह्याचरी उद्योगले हप्तामा ४५ लाख चल्ला उत्पादन गर्थे । अहिले चल्ला उत्पादन क्षमता २० लाखले घटेर २५ लाखमा सीमित भएको छ । ‘दाना र औषधिलगायत कच्चा पदार्थको मूल्य आकाशिएपछि किसानले चल्ला माग गर्नै छाडे,’ अध्यक्ष पौडेलले भने, ‘त्यसपछि चल्लाको लागत मूल्य पनि उठ्न छाड्यो । ५५ रुपैयाँ लागत पर्ने चल्ला ४० रुपैयाँमा विक्री गर्नुपर्ने बाध्यतामा छौं । विक्री नभएपछि लाखौं चल्ला नष्ट गर्नुपर्ने स्थिति पनि आयो ।’ यस्तो अवस्थामा पनि बिचौलियाले महीना दिन अघिसम्म भारतबाट तयारी मासु भित्र्याउँदा यस्तो अवस्था आयो,’ उनले आर्थिक अभियानसँग भने ।
दुई वर्षअघि दानामा प्रयोग हुने मकैको मूल्य २० रुपैयाँ किलो थियो । अहिले ४२ रुपैयाँ पुगेको छ । यसबीचमा भटमासको मूल्य ७५ रुपैयाँ किलोबाट बढेर १ सय २५ रुपैयाँ पुगेको छ । औषधिको मूल्य त्यसैगरी उकालो लागेको छ, जसले गर्दा कुखुरापालक किसान पनि पलायन हुन थालेको पोल्ट्री व्यवसायी महासंघका महासचिव दिनेशराज मिश्रले बताएको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS